नेपालगन्ज २७ असोज ।जिल्ला प्रहरी कार्यालय बाँकेमा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको भिड लाग्ने गरेको छ । असोज २४ गतेबाट फारम बुझ्न सुरु गरिएकोमा ३ दिनको अवधीमै करिब १ हजार बढीको हाराहारीमा आवेदनकर्ताहरु पुगेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।

आवेदन यहि असोज महिनाको ३१ गतेसम्म दिन सकिने तामाङले बताए । आवेदन दिन इच्छुकहरुले नागरिकता अनिवार्य संलग्न गर्नुपर्छ भने शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र पनि संलग्न गरे अझ राम्रो हुने तामाङले बताए ।

तामाङका अनुसार स्थानिय तहको जस्तै आसन्न निर्वाचनमा पनि म्यादी प्रहरीका लागि युवाहरुमा आकर्षण देखिएको छ । म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोशाक, तलव भत्ता र रासन उपलब्ध गराइने भएपछि युवाको आकर्षण बढेको उनले बताए । स्थानिय तहको चुनावमा बाँकेमा ११ सय भन्दा बढि म्यादी प्रहरी खटाइएको थियो ।

तपाईको प्रतिक्रिया