पोखरा, २७ असोज । नेपाल प्रहरीको ६२ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विधिको शासन कायम गराउन प्रहरीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ ।

शान्ति सुरक्षा, अमनचयन कायम गराउँदै सामाजिक विकृति, विसंगतिको अन्त्य गराउन नेपाल प्रहरीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै वक्ताहरुले सरकारले प्रहरीको मनोबल उच्च हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले समाजमा शान्ति सु–व्यवस्थाका साथै सुशासन प्रवद्र्धन गर्न नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय भएको बताउँदै समयसापेक्ष सेवाको प्रभावकारिताको लागि प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले प्रहरीले समाजमा शान्ति सुरक्षा, सुशासन प्रवद्र्धनका लागि क्रयाशील बन्दै आएको बताउँदै जनतासँग सहकार्य गरी सामाजिक शान्ति सुरक्षाका हरेक कार्यमा आफूलाई सक्रिय पार्ने उल्लेख गरे ।

उक्त अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, प्रहरीका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया