अधिवक्ता सुजित के.सी सोमबार दिउँसो  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन माथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्यो । घटना कायरतापूर्ण र अत्यन्त निन्दनीय हो । कुनै पनि नागरिकको दिँउसै हत्या हुनुले आमनागरिकमा त्रासको वाताबरण सिर्जना हुनु स्वभाविक हो । अझ त्यसमा पनि त्यही व्यवसायमा लागेका अन्य व्यक्तिलाई घटना पश्चात बारम्बार फोन गरी धम्की आउनु र रकम माग्नुले त झन निर्माण व्यवसायी तथा व्यापारीहरु त्रसित भएका छन् । वास्तवमा काठमाण्डौं पूर्ण रुपमा असुरक्षित छ । यहाँ जुन सुकै बेला जसमाथी पनि गोली प्रहार हुन सक्दछ् । देशको राजधानीमा समेत असुरक्षा हुनुमा सरकारी र सुरक्षा निकाय समेतको कमजोरी पनि हो । यस्तै हो भने यहाँ बस्नै नसकिने स्थिति सिर्जना पनि हुन सक्दछ । जो कोही पनि अब अपराधीको निशानामा पर्न सक्छ भन्ने सन्देश दिने खालका समाचारहरु थुप्रै सम्प्रेषण भइसके । घटना घट्नु केही समय अगाडी सुरक्षा व्यवस्था चुस्त दुरुस्त तर घटना पछि एकाएक किन त्यस्तो भयो त ? लोकतन्त्रमा सबै नागरिक प्रति राज्यले सकारात्मक व्यबहार देखाउनु पर्ने हुन्छ । कुनै पनि व्यक्तिले खराब काम गर्न सक्छ भन्ने पूर्वानुमानका आधारमा राज्यले कसैलाई पनि दुख दिन मिल्दैन् । अर्थात अपराध नगरेसम्म कुनै पनि ब्यक्तिलाई दोषी भन्न मिल्दैन, अझ कानुन बमोजिम अदालतबाट अपराध पुष्टी नभएसम्म व्यक्ति निर्दोष रहेको मान्नुपर्दछ र त्यही अनुसारको व्यवहार गर्नुपर्दछ । अहिले सुरक्षा व्यवस्था माथि प्रश्न उठ्नु स्वभाविक हो तर चाहिने भन्दा बढी प्रश्न उठ्नु, अनुसन्धान गर्ने निकायलाई सहयोगको सट्टा आन्दोलनका नाममा अवरोध सिर्जना गर्नुले अनुसन्धान प्रभावित त हुन्छ नै सँगसँगै पिडीत परिवारलाई समेत झन पिडा पुग्न सक्छ । घटना पछिको अनुसन्धानमा सहयोग हुन जरुरी छ, साथै त्यसको फलो अप अर्का महत्वपूर्ण पक्ष हो । त्यसमा संलग्न अनुसन्धान अधिकारीहरुले कसरी काम गरिरहेका छन, अनुसन्धान प्रभावित हुने ढंगले अगाडी बढेको छ वा गलत दिशा तर्फ उन्मुख छ, त्यो कुराहरुको निरन्तर निग्रानी जरुरी छ । त्यति मात्र हैन, अनुसन्धान सँगै अभियोजन र अदालतबाट हुने निर्णय सम्म हेर्नुपर्ने हुन्छ । निर्णय पश्चात मात्र पिडीतले न्याय पाए नपाएको अनुभूति हुन्छ । तसर्थ अनुसन्धान त्यसमा पनि यस्ता प्रकृतिका गम्भिर अपराधमा संगठित गिरोहको संलग्नता हुने हुनाले सामान्य अनुसन्धानले मात्र पुग्दैन । त्यसको लागि बिशेष अनुसन्धान पद्दति अपनाउनुपर्छ । संगठित अपराधमा जहिले पनि आर्थिक लाभको पक्षले प्रभाव पारेको हुन्छ । संगठित अपराधमा मात्र हैन, अहिलेका अधिकांश अपराधमा मुल कारक तत्व पैसा नै रहेको पाईन्छ तर अनुसन्धान गर्ने प्रहरीले त्यता तर्फ कमै मात्र ध्यान दिएको पाईन्छ । जबसम्म अपराधीले अपराध कर्मबाट आर्जन गरेको सम्पत्ति त्यो अपराधीबाट राज्यले जफत गर्न सक्दैन, अपराधिको मनोबल बढ्छ र अपराध कम हुदैन झन बढ्छ, त्यसको शिकार आम नागरिक भई नै रहन्छन । सरकारी कर्मचारीले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दछ भने अन्यले व्यक्तिले आर्जन गरेको सम्पत्ति छानविन अनुसन्धान गर्नको लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागले गर्दछ तर त्यो विभाग नाम मात्रको छ, वेकम्मा छ त्यो निकाय । त्यो विभागले सही ढँगले काम नगर्दा संगठित अपराध गरी आर्जन गर्नेको मनोबल बढेको छ र अपराध पनि बढेको छ । सम्पत्ति शुद्दीकरण अनुसन्धन विभागले विदेशमा जम्मा गरेको गैर कानुनी आर्जनको समेत अनुसन्धान गर्न सक्छ तर त्यो कहिल्यै गरेको देखिन्न । त्यो विभागले त खाली उजुरी कुरेर बस्छ र त्यही उजुरीलाई हतियार बनाएर सर्वसाधारणलाई मात्र दुख दिन्छ । हैन भने अहिलेसम्मका धेरै जसो हत्याकाण्ड पैसाको लागि भएको र विभिन्न संकित बारेमा टिकाटिप्पणी भईरहेको अवस्थामा निजहरुको बारेमा तत्काल आर्थिक पक्षको अनुसन्धान शुरु गर्नुपर्नेमा किन अनुसन्धान गरिदैन? कतिलाई थाहा पनि छैन, त्यो विभागको बारेमा त्यसैले त कही जवाफ पनि दिनु परेको छैन । गम्भीर प्रकृतिका संगठित अपराध हुनुमा धेरै कुराले भूमिका खेलेको हुन्छ, त्यही कुराको आधारमा सुक्ष्म ढंगले अनुभवी र राम्रा अनुसन्धानकर्मीले अनुसन्धान गरेमा नेपालमा कुनै पनि अपराधका घटना रहस्यमय हुनेछैन । यसमा न गृह प्रशासन न त प्रहरी नै गम्भीर देखिन्छन्, उनीहरुलाई त खाली सत्ता र कुर्सीको नै मोह छ । जसरी काठमाण्डौँको सुरक्षा अवस्थाको बारेमा आम जनमानसमा सन्देश गएको छ त्यो अवस्था र वातावरण बन्नुमा सुरक्षा निकाय नै जिम्मेवार छन् । अब जनतालाई सुरक्षाको प्रत्याभूति गराउनु पनि पर्ने हुन्छ । नेपालमा अनुसन्धान गर्ने प्रहरी सक्षम छ, त्यसलाई सहयोग गरेमा चाडै नै अपराधी कानुनी कठघरामा आउछ, त्यसमा शंका छैन तर विभिन्न बहानाबाजीमा प्रहरीलाई अल्मलाउनु बुद्धिमता होइन । यो सबैले बुझ्नु जरुरी छ । साथै राज्यले यस्ता घटनालाई गंभीरताका साथ लिएर अनुसन्धान गरी त्यसको प्रगति विवरण आमजमानसमा सार्वजनिक गर्नुपर्छ । अनि मात्र जनतालाई सुरक्षाको प्रत्याभूति हुनेछ । नत्र त्रासको वातावरण छाहि रहनेछ् । यस्ता अपराधिक घटनाहरु बढि नै रहनेछन् । काठमाण्डौं साँच्चै असुरक्षित बन्नेछ ।

तपाईको प्रतिक्रिया