एजेन्सी । टबलका जादुगर लियोनल मेस्सीको उपस्थितिमा मैदान रहँदा पनि अर्जेन्टिना सन् २०१८ का लागि विश्वकप छनोटमा नपर्न सक्ने गम्भीर मोडमा थियो । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाको यस्तो हविगतसामु सबैभन्दा दबाबमा मेस्सी नै थिए । किनभने, विश्वकै नम्बर एक फुटबलरका रूपमा प्रदर्शन गर्दै आएका उनले राष्ट्रिय टिममा भने गतिलो गर्न नसकेको आरोप लाग्ने गरेको थियो । आरोप स्वाभाविक पनि हो ।

तर, यो आरोपलाई जादुमयी शैलीमा खारेज गरिदिएर अर्जेन्टिनाको विश्वकप यात्रालाई मेस्सीले सुनिश्चित गरिदिएका छन् । घरेलु मैदानमा इक्वेडरले १–० को दबाब दिइरहँदा मेस्सीले अन्ततः ह्याट्रिकमा जवाफ दिए । जबकि इक्वेडरसँग बराबरीको खेल मात्रै खेलेको भए पनि मेस्सीसहित अर्जेन्टिनी टिम लज्जास्पद रूपमा घर फर्किनुपर्ने थियो । तर, ३–१ को सुनौलो जितसहित अर्जेन्टिना दक्षिण अमेरिकी मुलुकबाट तेस्रो हुँदै विश्वकपमा छनोट भएको छ । मेस्सीको यो ‘गोल जादु’को चर्चा फेरि एकपटक विश्वभर भएको छ ।

तर, फुटबल मैदानमा मेस्सीको उपस्थित ज्यादा भाग्यसँग सम्बन्धित देखिन्छ, उनको जीवन कोट्याउँदा । १९८७ मा अर्जेन्टिनाको रोसारियो सहरमा जन्मिएका मेस्सीको जीवनको सुरुवाती दिन नै निर्मम थिए । बाल्यकालमै उनी ‘ग्रोथ हर्मोन’को बिरामी थिए । उनको शारीरिक विकास नै रोकिने अवस्थामा थियो । उनको शरीरमा प्रतिरोधक क्षमता कम थियो । आँखाको ज्योति कमजोर थियो । उनलाई दैनिक हर्मोन थेरापी दिनुपर्ने अवस्था थियो । तीन वर्षसम्म हरेक दिन उनको पैतालामा इन्जेक्सन दिनुपथ्र्यो । यो उपचारका लागि हरेक महिना १५ सय डलर लाग्यो । यो काम नगर्दा उनको शरीर झन् कमजोर हुँदै जाने र शारीरिक भविष्य कमजोर अवस्थामा पुग्ने थियो ।

मध्यमवर्गीय परिवारका लागि मेस्सीको उपचार असम्भव थियो । आमा–बाबु गरिब थिए । त्यतिवेला शारीरिक विकास रोकिएको हुन्थ्यो भने मेस्सीलाई आज फुटबलका जादुगरको रूपमा देख्न सायद मुस्किल हुन्थ्यो । तर, उनको जीवनमा भाग्य खुल्यो ।

मेस्सीका बाबु जर्जलाई साथीले एक दिन बताए, स्पेनमा एउटा फुटबल क्लबले खेलाडीहरूको उपचारमा सघाउँछ । बाल्यकालमै मेस्सी फुटबल खेल्न रुचाउँथे, जर्ज आफैँ पनि स्थानीय क्लबको कोच थिए । साथीले जानकारी गराएपछि जर्ज मेस्सीसहित परिवार लिएर स्पेन गए । बार्सिलोना क्लबका निर्देशक कार्लेस रेक्सचसँग भेट गरे । मेस्सीमा क्षमता देखेपछि कार्लेस उनलाई बार्सिलोनामा आबद्ध गराउन तयार भए, अनि उनको उपचारको सम्पूर्ण खर्च तिर्न पनि । तत्काल कार्लेसले न्यापकिन पेपरमा लेखेर मेस्सीलाई बार्सिलोनामा अनुबन्ध भएको पत्र दिए । यतिवेला मेस्सी मात्रै १३ वर्षका थिए ।

मेस्सीको उपचार भयो, फुटबल पनि खेल्दै गए । १८ वर्षको उमेरमा २००५ मा उनले पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्ने मौका पाए । उनका लागि विश्व फुटबल बजारमा नाम फैलाउने यो नै पहिलो अवसर थियो । तर, उनको त्यो खेल जम्मा ४७ सेकेन्डको रह्यो । किनभने, खेल्दाखेल्दै रेड कार्ड पाए ।

यसरी सुरु भएको मेस्सीको फुटबल यात्राबाट सन् २०१६ सम्म आइपुग्दा सन्यास लिने मोडमा पुग्यो । कोपा अमेरिका २०१६ को फाइनल खेलमा लज्जास्पद हारपछि उनले फुटबलबाटै सन्यास लिने घोषणा गरे । तर, अर्जेन्टिनी सरकारले सन्यास फिर्ता लिन पटक–पटक अनुरोध गरेपछि उनी फुटबलमै फर्किए । त्यसयता पनि मेस्सीका चामत्कारिक गोल दर्शकले हेर्दै आएका छन् । मंगलबार राति इक्वेडरविरुद्धको ह्याट्रिक पछिल्लो चमत्कार हो । गोलको वर्षा गर्दै मेस्सीले फेरि हावामा दुई हात उठाए, आफ्नी हजुरआमालाई खुसी देखाउन । उनी १० वर्षको हुँदा संसार छाडेर गएकी प्रिय हजुरआमाबारे मेस्सी भन्छन्, ‘हजुरआमा अहिले पनि स्वर्गबाट मेरो खेल हेरिरहेकी छिन् ।’

तपाईको प्रतिक्रिया