मेक्सिको सिटी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।

राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिए। सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको उनले बताए।

पत्रकार सम्मेलनमा प्रवक्ता फास्कीले घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए। प्रहरीका अनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान गर्न सकेको छैन। घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारी उच्च अधिकारीहरूले कारागारको पुनःनिर्माणका लागि आवश्यक निर्देशन दिइसकेको बताएका छन्। यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए।

तपाईको प्रतिक्रिया