प्यारी सुबुना,

तिम्रो शिखर चुम्ने अठोटको सम्मान गर्न
तिमीले चिर्ने काला बादलमा ताप र राप भर्न
अनि तिम्रो गगन नाघ्ने प्रणलाई प्रणाम गर्न
तिम्रो शाहस र उमंगलाई सलाम भन्दै
तिम्रा पोजिटिभ भाईरसहरु अझ सकृय पार्न
देश बिरामी गराउने ख़राब भाईरस बिरुद्द उभिएकी
तिमीलाई कोटी कोटी सम्मान गर्दै
तिमीलाई बिजयको माला पहिराउनु अघि
सुबुना! तिम्रो सम्मानमा मैले एउटा चिट्ठी लेखेँ।

सुबुना,
तिमीले गोविन्दहरुको शास बचाउन गुहार गर्दा
नेपथ्यमा उनलाई मार्नेहरु सकृय छन्,
तिमीले लूट बिरुद्द जुट भन्दा
नीति दबाउँदै र चपाउँदै लुट्नेहरु सकृय छन्
लुट्नकै लागि जुट्ने र फुट्नेहरु सकृय छन्
दण्डहीनता सप्रेर क़ानूनी राज छैन यहाँ
गाउँमा मलामी जानेहरु छैनन्
शहरमा नवराजाहरुको सलामी चलिरहेकै छ
लोकको घाँटी निमोठ्नेले नै लोकतन्त्र रटेर
आज गोविन्दको मृत्यु कुर्ने कंसहरु सकृय छन्
यहाँ त फ़र्ज़ी उज्यालो देखाउन
ज़हर भरिएका दीपहरु बलिरहेका छन्
तिनै ज़हरले बलेका दीप निभाउन
तिनै कंसहरु बिरुद्द तिम्रो शंखघोषमा बल थप्न
पढ न सुबुना ! तिम्रो सम्मानमा मैले एउटा चिट्ठी लेखेँ।

तिमी काठका घोड़ाहरु संग नडराऊनू सुबुना
तिमी त वायुपंखी घोडा पो त !
कहाँ, कसैले घचेटेर मात्र हिड्ने काठका घोडा
कहाँ,आकाश चुम्ने तिमी पुष्पक बिमान
फेरि तिमी एक्लै कहाँ छौ र ?
तिम्रो साथमा कति रवीन्द्रहरुले रहर भरेका छन्
कति उज्वलहरु त तिम्रा प्रेरक छन्,
अनुपाहरुले त तिम्रो होष्टेमा हैँसे गरेका छन्
तिमी जहाँ जाँदैछौ, सधै हाम्रो पुकार छ
जाऊ जून चुमेर आऊ
मिलनको मीठो गीत सुनाएर आऊ
सूर्यहरु लामवद्द भएर तिम्रै गीत सुन्न आतुर छन्
त्यसैले त्यहि सुनौलो दिनको यादमा
सुनन सुबुना! तिम्रो सम्मानमा मैले एउटा चिट्ठी लेखेँ।

हो सुबुना,
चुनौति दिन दुगुना रात चौगुना छ
ईमान बुझ्दैनन् मान्छेहरु
किनकी यहाँ त अभिमानले पो राज गरेको छ त !
यहाँ त गेरु बस्त्र लगाएर मान्छे मार्नेहरु छन्
मान्छेहरु तिनैको जयजयकार गर्छन्
तिनैको एक छाक पेट भरि खान्छन्,
अनि अर्को दिन
मातले नछोड्दै ड्याम्म छाप लगाउँछन्
जब नशाले छोड्छ फेरि तिनैलाई सराप्छन्
तर तिनैलाई आफ्नो छातीमा टेकाएर भर्याङ चढाउँछन्
तिमी त त्यहि दुबिधा चिर्न उठेकी मान्छे
तिमीलाई मेरो सलाम र लाखौँको आशिर्वाद छ
त्यसैले तिम्रो त्यो बिजयोत्सव गर्नु अघि
सुबुना! तिम्रो सम्मानमा मैले एउटा चिट्ठी लेखेँ।

हो,चुनौति चौगुना छ
हाम्रा युवाहरु खाडीमा हाँड़ी जस्तै तातेका छन्
हाम्रा बा आमाहरु बूढ्यौलीमा बाटो हेर्दै दिन काटेका छन्
दिन दिनै राता बाकसहरु आउँछन्, धिक्कार्छन्
हाम्रा दाजु भाइ खाड़ीमा पठाएर
लाखौँको गाडीमा हिड्नेहरुलाई खवरदार भन्न
तिमी कँस्सिएको बेला
आफ्नो स्वार्थका लागि अर्थलाई अनर्थ गर्नेहरु बिरुद्द
तिमी सती साल झैँ उभिएको बेला
तिमीले देखेका सपनाहरुमा प्राण भर्न
सुन न सुबुना ! तिम्रो सम्मानमा मैले एउटा चिट्ठी लेखेँ।

हेर सुबुना,
तिमीलाई यो माटोको कसम छ
तिमी पछि फर्कने छैनौ
तिमीलाई यो दाजुको कसम छ
तिमी बाटो भूल्ने छैनौ
तिम्रो लक्ष्य त गगन हैन नि जून पो हो त !
जाऊ सुबुना, जूनको शितल लिएर आऊ
र यी उत्पात् तातेका,थाकेका र गलेका
मानव र मानवीहरुलाई बाँडिदेऊ
किनकी अब यहाँ उज्वल रवीन्द्रहरु तिम्रो आशमा छन्
बिश्वासमा छन्
त्यसैले
तिमीले बोकेर ल्याएको जूनको शितल ताप्नु अघि
तिमीलाई अग्रिम बिजयको शुभकामना दिन
सुबुना, तिम्रो सम्मानमा मैले एउटा चिठ्ठी लेखेँ।

उही तिम्रो दाजु सरगम भट्राई

तपाईको प्रतिक्रिया