काठमाडौँ । संघीय समाजवादी फोरम र राजपा दुईदलीय गठबन्धन बनाएर प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा लागेका छन्।

फोरम र राजपा गठबन्धनले सो प्रदेशको प्रत्यक्षतर्फको प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ मध्ये बहुमत सिट जित्ने गरी कांग्रेससँग सहकार्य गर्ने नीति लिएका हुन्। सो गठबन्धनभित्रका नेताहरूले कांग्रेससँग तालमेल गर्दा कम्तीमा मधेसका २० जिल्लाका ७८ मध्ये ४५ सिट पाउने गरी गर्नुपर्ने तर्क गरिरहेका छन्।

कांग्रेससँग तालमेल नभएमा मधेसका २० जिल्लाका प्रतिनिधिसभातर्फका ७८ सिटमध्ये फोरम र राजपाले आधा÷आधा सिट लिने तयारी गरेका छन्। तर, अहिलेसम्म औपचारिक सहमति भने भएको छैन। फोरम सचिव रत्नेश्वरलाल कायस्थले स्थानीय तहको मतका आधारमा सिट बाँडफाँड हुने बताए।

प्रदेश नम्बर २ मा फोरम र राजपाले करिब २५ सिट जित्ने दाबी गरेका छन्। र, प्रदेश सभाको ६४ सिटमा ४० सिट कटाउने लक्ष्य बनाएका छन्। त्यसो गर्दा फोरम र राजपा गठबन्धनको प्रदेश सरकार बन्नेछ।

राजपा महामन्त्री केशव झाको बुझाइमा कांग्रेस र मधेस केन्द्रित दलको गठबन्धनबीच तालमेल नहुँदा पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा एमाले र माओवादी गठबन्धनले जित्ने र भित्री मधेसमा फोरम र राजपाका उम्मेदवारले जित्छन्, त्यो अवस्थामा कांग्रेस प्रदेश २ मा कमजोर बन्नेछ।

बलियो तेस्रो शक्ति बन्ने
फोरम र राजपा नेताहरू प्रतिनिधिसभामा बलियो तेस्रो शक्ति बन्नुपर्ने अभियानमा लागेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन पहिलो र कांग्रेस दोस्रो दल बनेको अवस्थामा यो गठबन्धन तेस्रो शक्तिको रूपमा आउने राजपा महामन्त्री मनीष सुमनको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया