पथरी,२१ असोज । पथरी शनिश्चरे ११ मोरङको पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । वीरेन्द्रनगर क्रिकेट क्लब पथरी शनिश्चरेको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इटर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरीलाई ७ विकेटले पराजित गर्दै पथरी शनिश्चरे ११ ले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो ।
दुहबीले दिएको ७७ रनको विजयी लक्ष्य पछ्याएको पथरीले १२ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्यो । पथरीको जितमा राकेश दाहालले ३० र महेश रेग्मिले २० रन बनाए ।
दुहबीका आसिस मल्लिक, रमेश साह र रवि शाहले समान १÷१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दुहबी १४ दशमलब ५ ओभरमा मात्र ७६ रनमा समेटियो ।
दुहबीका लागि रोसन रोएले ३५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन । पथरीका लागि सुमन इजम लिम्बुले ४ तथा राकेश दाहाल र संकर भुजेलले समान २÷२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच ३ ओभरमा २ रन दिएर ४ विकेट लिएका पथरीका सुमन इजम लिम्बु घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा फुलबारी क्रिकेट क्लब सुनसरी र रत्न युथ क्लब पथरी मोरङ विच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया