ताजा खबर काठमाडौं- आफ्नो कर्मथलोबाट दसैँ मनाउन घर जाँदा कतिपयले रात्रिबसमा यात्रा गर्नुपर्ने हुन्छ । विशेषगरी, राजधानीमा रहेका सुदूरपूर्व र सुदूरपश्चिमका नागरिक प्रायः रात्रिबसमै चढेर घर जानुपर्छ । तपाईं पनि रात्रिबसमा यात्रा गर्दै हुनुहुन्छ भने कतिपय विषयमा सचेत हुनैपर्छ । ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले रात्रिबसका यात्रुलाई ५ टिप्स दिएका छन्ः १. रात्रिबसमा चढ्दा सबैभन्दा पहिले आफ्नो सामानको सुरक्षामा विशेष ध्यान दिनुहोस् । सकेसम्म सामान राखिएको झोला आफ्नो आँखाले देख्ने ठाउँमै हुन जरुरी हुन्छ । सबै बसमा यस्तो परिस्थिति नपर्न सक्छ । छतमा राख्नुपर्ने पनि हुन सक्छ । त्यसैले झोलामा चाबी लगाएर लक गर्दा नै सुरक्षित हुन्छ । २. सिटमा बसेपछि गाडीबाहिर टाउको तथा हात निकाल्ने गर्नु हुँदैन । दिउँसोमा भन्दा राति यो झन् बढी खतरनाक हुन्छ । दायाँतिरको सिटबाट शरीरका अंग बाहिर निकाल्दा गाडीले हान्ने र बायाँतिर बिजुलीको खम्बा या रुखमा ठोक्किएर दुर्घटना हुन सक्छ । ३. ड्राइभरको सिटमा अप्ठ्यारो पर्ने गरी रात्रिबसमा यात्रा गर्नु हुँदैन । रातिको यात्रा दिउँसोको भन्दा संवेदनशील हुन्छ । गियरनजिक गोडा राखियो भने कहिलेकाहीँ अकस्मात् गियर चेन्ज गर्नुपर्दा समस्या भएर दुर्घटना निम्तिन सक्छ । ४. रात्रिबसमा यात्रा गर्दा आफ्नो पर्स तथा मोबाइल सुरक्षित राख्ने पाटोमा पनि सजग हुनुपर्छ । चोरीको सम्भावना हुन्छ । त्यसैले सुत्नेभन्दा पनि चनाखो हुने गर्नुपर्छ । ५. एउटा ड्राइभरको हातमा धेरै यात्रुको जीवन धानिएको हुन्छ । राति ड्राइभर निदाएर दुर्घटना भएका धेरै उदाहरण छन् । त्यसैले रात्रियात्रामा ड्राइभरको नजिकै सिटमा हुनुहुन्छ भने रमाइला गफ गरेर ड्राइभरलाई फ्रेस बनाउनुपर्छ । नजिक बसेर ड्राइभरलाई अनावश्यक तनाव दिने होइन, तनावमुक्त गराउने प्रयास गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया