डा.अरूणा उप्रेती कब्जियत हुनु, पेट खराव हुनु, पेटमा ग्याँस बन्नु, पेट सफा नहुनु खास गरी आजको शहरी जीवनमा आमसमस्या भइसकेको छ । कब्जियत खासगरी दुई किसिमको हुन्छ —स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । अस्थायी कब्जियत चाहिँ केही सामान्य विचार पु¥याएमा हटाउन सकिन्छ । अनियमित खानपान, शारीरिक श्रमको कमी, भोजन नपच्नु, औषधीहरूको ज्यादा सेवन, पानी कम पिउनु आदि कब्जियतका प्रमुख कारणहरू हुन् ।

कब्जियतबाट मुक्ति पाउनको लागि खाना राम्रोसँग चपाएर खानुपर्छ । रेसादार खाद्यवस्तु खानामा समावेश हुनुपर्छ । चोकरयुक्त आँटाको रोटी खानु, प्रशस्त पानी पिउनु, समयमा दिसा त्याग गर्नु कब्जियतबाट बच्ने केही उपायहरू हुन् । रेशादार (फाइबर) तत्व भएका भोजनहरू पनि कब्जियत हटाउन लाभदायक छन् । यसबाट कुनै पोषक तत्व प्राप्त नभएपनि शरीरको आन्तरिक कार्य ठीकसँग गर्नका लागि यसको जरूरत हुन्छ । चोकरयुक्त आँटा, चिउरा, फलफूल, तरकारी, गेडागुडी, आदिमा रेसादार पदार्थ हुन्छ ।

कब्जियतले भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाकवाक हुने, दिसा साह्रो भएर पाइल्स हुने आदि समस्या ल्याउँछ । हाम्रो खानामा रेसादार पदार्थको सट्टा रेसा नभएको पदार्थ जस्तो–मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी प्रयोगले गर्दा कब्जियत हुन्छ । साथै हिँडडुलको कमीले गर्दा पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ । झोल पदार्थको नाममा आजकल कफि, कोकाकोला, फ्यान्टाजस्ता पदार्थहरू पिइन्छ । यस्ता वस्तुहरू पनि कब्जियतका लागि जिम्मेवार छन् । मध्यमवर्गीय परिवारको भोजनबाट रेसादार पदार्थ झण्डै–झण्डै हराइसकेको छ ।

त्यसमाथि पनि बच्चाहरूको खानाबाट हरियो तरकारी, मकै, भटमास, गाजरजस्ता रेसादार पदार्थ भएका खानेकुरा हटेर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थको प्रयोग बढ्दै गएको छ । कब्जियत हटाउनका लागि दैनिक भोजन र खाजाबाट पनि यस्ता पदार्थहरू हटाएर विभिन्न किसिमका तरकारी, विशेष गरी बोक्रा सहितका तरकारीहरू जस्तो —गाजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, क्वाँटी आदि पदार्थको प्रयोग बढाउनु पर्छ । त्यसैगरी आँटा, मकै, कोदो, बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।

हरेक दिन २०–२५ मिनटको छिटोछिटो हिँडाइ एउटा राम्रो व्यायाम हो । यसले शरीरको तौल ठीक राख्नुको साथै कब्जियत हटाउन पनि मद्दत गर्छ । गर्भ रहेको बेलामा पनि केही महिलालाई कब्जियत हुन्छ । यो बेलामा शरीरभित्र पैदा हुने हर्मोनहरूको कारणले यस्तो हुन सक्छ । गर्भवती महिलाले विभिन्न कामका साथै नथाक्ने गरी २०–३० मिनेट हिँड्नु राम्रो हुन्छ । साथै भोजनमा रेसादार पदार्थ, हरियो तरकारी, मौसमी फलफूल पनि प्रयोग गर्नुपर्छ । गर्भवती महिलाले पर्याप्त मात्रामा पानी र झोल पदार्थ जस्तै–तरकारीको रस, दालको रस, मोही, दूध आदि प्रयोग गर्नुपर्छ ।

विभिन्न कारणवश कतिपय व्यक्तिहरु विहान उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन् । कामको चाप, हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडन्छन् । दिसा लाग्दा लाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन् । यस्तो बानीले गर्दा पछि कब्जियत हुन जान्छ । विहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ ।

बालबालिकाहरूलाई पनि विहान उठ्नेबित्तिकै दिसा गर्न जाने बानी बसाल्न लगाउनु पर्छ । यदि घरमा दिसा गर्न गएनन् भने स्कुलमा डरले शिक्षकलाई भन्न नसकी उनीहरू च्यापेर बस्छन् । यसले गर्दा कब्जियतको समस्या हुन्छ । जसको कारण जीवनभरको लागि स्वास्थ्य समस्या आउन सक्छ । खानेकुरा र व्यायामको अभाव मात्र होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव हटाउन ध्यान, योग, हिँडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । मानसिक चिन्ता हटाउन आनन्दपूर्वकको हिँडाइ, दौडाइ र हँसाइ पनि एउटा राम्रो माध्यम हो । पेट मिचिमिची हाँस्दा आन्द्राहरूको मालिस हुन्छ ।

केही औषधीहरुले पनि कब्जियत गराउन सक्छ । यस्तो बेलामा प्रायः औषधी दिने डाक्टरले त्यसको बारेमा भन्छन् र सकेसम्म बढी पानी पिउने र हरियो सागपात खाने सल्लाह दिन्छन् । कब्जियत गराउन सक्ने केही औषधी एन्टासिड, एलमोनियम, क्याल्सीयम, निद्रा लाग्ने औषधी, मानसिक रोगका लागि प्रयोग गरिने औषधी आदि हुन् ।

दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरू बल निकालेर कन्छन् । यसले गर्दा गुदद्वारमा दवाव पर्न जान्छ र मलद्वारमा घाउ हुने हुन्छ । त्यसैले कन्नु सट्टा दैनिक जीवनको भोजन, व्यायाम आदिबाट नै कब्जियतबाट मुक्ति पाउनु उचित हुन्छ । कब्जियत हुनेले राती सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया