अधिवक्ता सुजित के.सी

भारतीय सिमा सुरक्षा बलले नेपाल भित्र प्रवेश गरी पटक पटक नेपालीलाई बिना कारण कुटपिट गर्ने, नियन्त्रणमा लिने तथा कयौंलाई गोली हानी हत्या समेत गरिसकेको छ । केहि दिन अघि मात्र पनि सप्तरी जिल्लाका देवनारायण यादव तथा उनका छोरा अजय यादवलाई भारतीय प्रहरीले अपहरणको झुठो अभियोगमा पक्राउ गरेको छ । उनलाई छोरा अजयले विवाह गरेको केटीलाई अपहरण गरेको अभियोगमा भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । गत वर्ष नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले जबरजस्ती एकतर्फी बाँध बनाउन लाग्दा यादवले नेतृत्व गरेको नेपाली समूहले प्रतिकार गरेका थियो । प्रतिकारको क्रममा यादव घाइते समेत भएका थिए । त्यति बेला सिमानामा लामो समयसम्म तनाव उत्पन्न भएको थियो । त्यस पछि यादवलाई भारतीय प्रहरीले निग्रानीमा राख्दै आएको थियो । यस अर्थ उनलाई नियोजित रुपमा फसाउन पक्राउ गरिएको बुझ्न सकिन्छ । देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको विषयमा गृह मन्त्री जर्नादन शर्माले सप्तरी जिल्ला प्रशासन कार्यलयलाई रिहाको लागि तत्काल पहल गर्न आदेश दिएका छन् । पक्राउ गर्ने भारतीय प्रहरी भएको हुँदा गृह मन्त्रीले दूतावास वा भारतीय निकाललाई सिधै समन्वय गर्नु पर्नेमा, मात्र सस्तो लोकप्रियताको लागि सि.डि.ओ लाई पहल गर्न आदेश दिएको जस्तो देखिन्छ ।

भारत सन् १९४७ अगस्त १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको हो तर अझै औपनिवेशिक मानसिकताबाट भने अलग हुन सकेको छैन् । दक्षिण एसियामा भारतले आफ्ना सबै छिमेकी मुलुकलाई दुख दिने गरेको छ । सन् १९७५ मा भारतले स्वतन्त्र राष्ट्र सिक्किमलाई षड्यन्त्र पूर्वक आफूमा विलय गरायो । भुटानको परराष्ट्र र रक्षा निति भारतकै हातमा छ । सन् १९७१ म पूर्वी पाकिस्तानलाई टुक्राएर बङ्गलादेश बनाईदियो ।  श्रीलंकामा तमिल विद्रोहको विजारोपण गराईदियो तर पनि श्रीलंकामा भने तमिल विद्रोह सफल हुन सकेन भने नेपालको हरेक क्षेत्रमा भारतीय दबाब, प्रभाव र हस्तक्षेप देखिन्छ । सिमा क्षेत्रमा त भारतीय दुरव्यवहारले पराकाष्टा नै नाघिसकेको छ । यहि व्यवहारका कारण अधिकांश नेपालीहरु भारतीय सरकारलाई घृणा गर्दछन् । त्यस्तै भारतले दश गजा मिचेर बाँध निर्माण गरि तराईलाई डुबानमा पार्ने समेतको निकृष्ट, अमानवीय र आपराधिक कार्य समेत गर्दैआएको छ ।

पहिलेदेखि नेपाल र भारतबीच खुल्ला सीमाना रहिआएको हो । भारतले नेपाललाई पूर्व दक्षिण र पश्चिम गरि तिन तिरबाट घेरेको छ । नेपाल भारतबीचको सिमाना १८०८ लाईन किलोमिटर रहेको छ । जसमध्ये ५९५ किलोमिटर ६० वटा नदीको सीमा पर्दछ । भारतले विं.स २०११ साल देखि निरन्तर रुपमा नेपालको सीमा अतिक्रमण गर्दै आएको छ । पहिलो पटक भारतले नेपालको नवलपरासी जिल्लाको सुस्ता नरसाही क्षेत्रमा अतिक्रमण गरेको हो । सन् १९६२ को भारत–चीन युद्ध पछि त भारतीय सेना नेपालको कालापानी क्षेत्रमा आइ बस्यो । पछिको वर्षहरुमा भारतले क्रमिक रुपमा नेपालको सीमा अतिक्रमण गर्दै आएको छ । नेपालको ७५ जिल्लामध्ये २६ वटा जिल्ला भारतसँग जोडीएको छ । जस मध्य २४ वटा जिल्लाको ८४ स्थानमा भारतले अतिक्रमण गरेको छ । भारतद्धारा नेपालको करिब ६० हजार हेक्टर जमिन अतिक्रमण भएको छ । भारतले अतिक्रमण गरेको मध्ये सबैभन्दा धेरै  लिपुलेकभञ्ज्याङ र लिम्पियाधुराबीचको करिब ३७२ वर्ग किलो मिटर रहेको छ । त्यस्तै भारतले नेपाललाई पटक पटक नाकाबन्दी लगाई अमानवीय व्यवहार समेत गरेको छ । नेपालमा आफुले भने जस्तो नहुँदा भारतले नाकाबन्दी लगाउने गरेको हो ।

भारतीय पक्षले नेपालको सिमा अतिक्रमण गर्ने, दश गजा अतिक्रमण गर्ने, बाँध निर्माण गर्ने लगायत थुप्रै अन्तराष्ट्रिय कानुन मिचेको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिक राष्ट्रियता माथी भारतीय पक्षबाट पटक पटक प्रहार भइरहेको छ ।

नेपाल सरकारले सिमा सुरक्षा बलको रुपमा शसस्त्र प्रहरीलाई जिम्मेवारी प्रदान गरेको छ । मेची महाकाली सिमानामा थुप्रै शसस्त्र प्रहरी क्याम्प समेत राखिएको छ । यति हुँदा हुँदै पनि एउटा सामान्य नागरिक भारतीय ज्यादती विरुद्ध लड्दा समेत शसस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेकोे छैन् । जनताको पैसाबाट तबल खाने सरकारी निकायले आफ्नो जिम्मेवारी पुरा नगर्नु अत्यन्त दुखद् र लज्जास्पद कुरा हो भने सरकारी स्तरबाट पनि वेवास्ता गर्नु लापरवाहीको पराकाष्टा हो । यो क्षम्य हुने गल्ती होइन् । आफ्नो देशको राष्ट्रियताको विषयमा गम्भीर नहुने सरकार र आफ्नो कर्तव्य पुरा नगर्ने सुरक्षा निकाय समेत यस्ता घटनाका दोषी हुन् । तसर्थ राज्य सत्ताले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताप्रति संवेदनशील हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया