नेपालगन्ज ११ असोज । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउने निर्णय गरेको छ । यही असोज २२ गतेदेखि घोराही उपमहानगरपालिका कार्यालय र वडा कार्यालय परिसर भित्र प्लाष्टिकका झोला प्रयोगमा पूर्णरुपमा रोक लगाइने छ । साथै उपमहानगर मातहतका विषयगत शाखा कार्यालय र अन्य सरकारी कार्यालयहरुमा कात्तिक १ गतेदेखि प्लाष्टिकका झोलाहरुको प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय भएको उपमहानगरका प्रवक्ता भरत अर्यालले जानकारी दिए । निर्णय कार्यान्वयन भैसकेपछि अटेर गर्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक चेतावनी दिने र तेस्रो पटक पनि अटेरी गरेर प्रयोग गरे प्रतिपटक ५० रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उपहानगर भित्र कत्तिक १ गतेदेखि प्लाष्टिकका गिलासहरु प्रयोगमा पूर्णरुपले बन्देज गर्ने पनि बैठकले निर्णय गरेको छ । यसका लागि नगर क्षेत्र भित्रका सबै व्यापारीहरुलाई असोज मसान्तसम्म मौज्दात रहेका प्लाष्टिकका गिलासलाई व्यवस्थापन गर्न समेत बैठकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया