ताजा खबर जुम्ला ११ असोज । कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरुले यात्रा जोखिमपुर्ण बनेको गुनासो गरेका छन् । राजमार्गमा पर्ने कालीकोटको दहिखोलामा गएको पहिरोका कारण दशैँ मनाउन घर फर्किएका यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । एस मोडदेखि मान्मको सेरीघाटसम्मको यात्रा निकै सकसपुर्ण भएको जुम्ला मान्मका कालीबहादुर बुढाले बताउनुभयो । राजमार्गको उक्त खण्ड पार गर्न निकै सकस भएकोले थोरै असावधानीले पनि ठुलो दुर्घटना हुनसक्ने भन्दै यात्रुहरु त्रसित बन्ने गरेका छन् ।

दहिखोला पार गर्ने बित्तीकै युद्ध जितेको महसुस हुने गरेको यात्रुहरु बताउँछन् । दहिखोलादेखि उक्त खण्ड एक लेनको मात्रै हुँदा साईड दिन गाह्रो पर्ने गरेको गाडि चालकहरुको भनाई छ । यसैगरि राजमार्गका विभिन्न ठाउँमा कालोपत्रे उप्किएर पनि समस्या भएको अर्का यात्रु जयबहादुर नेपालीले बताउनुभयो । राजमार्गमा पर्ने अधिकांश खोलाहरुमा पुल नभएका कारण पनि यात्रुहरुले सास्ति भोग्दै जोखिमपुर्ण यात्रा गर्नु परिरहेको छ । सडक डिभिजन कार्यालय कालीकोटका प्रमुख अंगलाल रोकायाले हाल ८ ओटा पुलहरु निर्माणाधिन अवस्थामा रहेका र दैलेख खण्डमा मात्रै १५ ओटा पुल बनाउन ठेक्का दिएको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया