नेपालगन्ज १० असोज । नेपालगन्जका भित्रि केही रुटहरुमा मगलबार देखि चार पाङग्रे गाडी र अटो रिक्सा सन्चालनमा प्रशासनले रोक लगाएको छ । चाडपर्वका बेला किनमेलका लागि मानिसहरुको उपस्थिति बढी हुने रुटमा चार पाङग्रे गाडी र अटो रिक्सा सन्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । अटो रिक्सा र चार पाङ्ग्रे सवारी साधनका कारण सडक जाम हुने, नागरिकहरुले अनाबश्यक दुःख पाउने गरेको गुनासोपछि प्रशासनले रुट व्यवस्थापन गरेको जनाएको छ । पौडेलका अनुसार नेपालगन्जको त्रिवेणी मोडदेखि त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय जाने सडक र विपी चोकदेखि त्रिभुवन चोक जाने बाटोमा दसैंको भोलीपल्टसम्म बिहान ६ देखि साँझ ६ बजेसम्म ति सवारीका साधन सन्चालनमा रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया