नेपालगन्ज । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले ढुवानीका क्रममा पशुहरुलाई यातना नदिन सबैसँग आग्रह गरेको छ । केहीदिन अघि नेपालगन्जबाट काठमान्डौं लगिदै गरेका २८ वटा खसीबोका बसको डिकीमा मरेको अवस्थामा भेटिएपछि पशु क्वारेन्टाइन कार्यालयले सूचना जारी गरी पशुहरुलाई ढुवानीका क्रममा यातना नदिन आग्रह गरेको हो ।

पशुहरुलाई बसकोे छत, डिकी र साइकलमा ढुवानी नगर्न कार्यालयले सबैमा आग्रह गरेको छ । कार्यालयका प्रमुख डाक्टर शंकर पाण्डेले पशुहरुको ढुवानी गर्दा ढुवानी मापदण्ड २०६४ अनुसार गर्न सबैलाई आग्रह गरेका छन । पशुहरुलाई ढुवानी गर्दा उनीहरुलाई कुनै पनि अफ्ठयारो नपर्नेगरी गर्न गराउन पाण्डेको आग्रह छ । कार्यालयले दसैं तिहार पर्वमा मासुको अत्यधिक माग हुने भएकाले क्वारेन्टाइन र भेटनरी चेकजाँच गराएको मासु खान सबैलाई आग्रह पनि गरेको छ ।

त्यस्तै पशु क्वारेन्टाईन चेक पोष्ट नेपालगन्जले यसवर्ष बढि राजस्व संकलन हुने जनाएको छ । गत आर्थिक वर्षभरीमा ५ लाख राजस्व संकलन भएकोमा यसवर्ष दुई महिनाकै अवधिमै २ लाख भन्दा बढि राजस्व संकलन भइसकेको छ । क्वारेन्टाईन कार्यालय नेपालगन्जका प्रमुख पाण्डेयका अनुसार भारतबाट भित्रिने अवैद्य पशुपंछिको जरिवानावाफत सो राजस्व संकलन भएको हो । खुला सिमा नाका भएका कारण अवैद्य रुपमा दिनप्रतिदिन पशुपंछि भित्रिने भएकाले प्रहरीले पक्राउ गरेर क्वारेन्टाईनमा बुझाएकालाई जरीवाना लिईदा राजस्व संकलन बढेको हो ।

तपाईको प्रतिक्रिया