चितवन, ८ असोज कुखुरा पालन व्यवसायको राजधानी मानिने चितवन जिल्ला पछिल्लो समय खसीबोकामा पनि आत्मनिर्भर बन्दै अन्य जिल्लामा बेचबिखन गर्न सक्ने भएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक ४५ हजार ६२५ खसीबोका खपत हुने गरेकामा यसवर्ष दुई लाख पाँच हजार ७६ वटा खसीबोका उत्पादन भएका छन् । जसमध्ये एक लाख ५९ हजार ४५१ खसीबोका काठमाडौँंलगायतका बाहिरी जिल्लामा विक्रीका लागि पठाइएको छ ।

पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइका अनुसार जिल्लामा अहिले दुई लाख ३० हजार ५७ माउ बाख्रा पालिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा दुई लाख १३ हजार ९६८ बाख्रा रहेकामा गत आर्थिक वर्षमा ७ दशमलव ९४ प्रतिशत वृद्धि भएको उहाँले बताउनुभयो ।

विश्वको तथ्यांकलाई हेर्दा प्रतिव्यक्ति वार्षिक मासुको प्रयोग १४ किलो रहेकामा नेपालमा यो दर १२ किलो मात्रै छ । जिल्लामा उत्पादन हुने खुसीबोकाले चितवनको जनसंख्यालाई प्रतिव्यक्ति वार्षिक ३२ किलोले पुग्ने प्रमुृख सेढाइले बताउनुभयो ।

जिल्लाको पहाडी क्षेत्र बाख्रापालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । त्यससँगै तराईमा पनि बाख्रा पालिँदै आएको छ । पूर्वी चितवनको वीरेन्द्रनगर, रत्ननगर, भरतपुर महानगरपालिका र माडीमा पनि बाख्रापालन गरिएको छ ।

पशुसेवा कार्यालयको तथ्यांकअनुसार २८५ वटा व्यावसायिक बाख्रा फर्म छन् तर दर्ता नगरी पाल्नेको संख्या पनि ठूलो परिमाणमा छ । ग्रामीण क्षेत्रमा सहकारी बनाएर बाख्रापालन र बजारीकरण गर्ने गरिएको सेढाईले बताउनुभयो ।

मुख्यरुपमा सिद्धि र शक्तिखोरमा सहकारीमार्फत् खसीबोका संकलन र बिक्री वितरण गरिँदै आएको छ । समूह बाहेक घर÷घरमा सानो संख्यामा बाख्रा पाल्ने अधिकांश देखिन्छन् ।

एक हजार ५०० मिटर उचाइसम्म जमुनापारी, दुई हजार ५०० मिटरसम्म खरी र त्यो भन्दामाथि सिनाल जातका बाख्रा उपयुक्त हुने कार्यलय प्रमुख सेढाईले बताउनुभयो । जिल्लामा खरी क्रस, जमुनापारी, जमुनापारी क्रस, सिनाल, बोयर जातका बाख्रा बढी मात्रामा पाल्ने गरिएको छ । दामस्कर, सानन, लुवियान जातका बाख्रा पनि पालिने गरेको उहाँले जानकारी दिनुभयो । उन्नत जातका बाख्रा अष्ट्रेलिया र अफ्रिकाबाट ल्याइने गरेको छ ।

जिल्लामा उन्नत जातका बाख्रा र बोका विदेशबाट ल्याइएसँगै एकसय किलोसम्मका खसी बोका उत्पादन हुन थालेको सेढाईले बताउनुभयो । उहाँले भन्नुभयो “बोयर जातको बाख्राको छ÷सात महिनामा एक सय किलोभन्दा माथिका खसी बोका हुने गर्दछन् ।” जिल्लामा कृतिम गर्भाधानको कार्य पनि शुरु गरिएको छ । गत आर्थिक वर्षमा नमुनाका रुपमा २०० बाख्रामा कृतिम गर्भाधान गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा बाख्रापालन फस्टाउँदा पनि सरकारी अनुदान बृद्धि नहुँदा कृषक निरास भएको कार्यलय प्रमुृख सेढाईले बताउनुभयो
गत आर्थिक वर्ष कार्यालयले १७ कृषकलाई रू १४ लाख र २० कृषकलाई रू २० हजारका दरले खोर सुधारका लागि रू चार लाख अनुदान दिएको थियो ।
भौगोलिक हिसाबले चितवन बाख्रापालनमा उपयुक्त भए पनि कुखुरापालनमा झै ठूलो लगानीमा बाख्रापालन अझै शुरु हुनसकेको छैन ।

तपाईको प्रतिक्रिया