काठमाडौं – नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँमा मासुका परिकार बढी खाने चलन छ । खान जान्दा मासु पोषण हो, तर खान नजाने रोगको घर । त्यसैले चाडबाडको नाममा जथाभावी मासु नखानुहोस् । ठिक्क खानुहोस्, स्वस्थकर मासु खानुहोस् र स्वस्थ रहनुहोस् :

डा. अरुणा उप्रेती, न्युट्रिसियन
-आमनेपालको बानी मासु स्वादका लागि खाने हो भन्ने नै छ । तर, स्वादका लागि मासु खाँदा स्वास्थ्यमा पर्ने असरबारे सोच्न सक्नुपर्छ । स्वादभन्दा स्वास्थ्यलाई बढी महत्व दिएर मासु खानुपर्छ ।

-स्वादका लागि मासु खाँदा शरीरमा विभिन्न रोग निम्तिने खतरा रहन्छ । स्वास्थ्यलाई ध्यान दिएर मासु खाए राम्रो फाइदा गर्छ । मासु पोसिलो खानेकुरा हो ।

-मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानीको मिश्रण हुन्छ । स्वस्थकर मासु स्वस्थ तरिकाले बनाएर खाए स्वास्थ्यलाई फाइदा गर्छ । तर, यी पाटोमा ध्यान नदिए समस्या निम्त्याउन सक्छ ।

-चाडबाडका वेला नेपाली भान्सामा मासुको प्रयोग बढी नै हुन्छ । त्यसैले माग पनि बढी हुन्छ । मासु व्यापारीले सरसफाइमा त्यति ध्यान दिँदैनन् । त्यसैले पहिलो नम्बरमा मासु खरिदमै विशेष ध्यान दिनुपर्छ । बाटोमा जताततै राखिएका मासु खरिद नगर्नुहोस् ।

-सकेसम्म ब्वाइल्ड मासु खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । धेरै मसला, तेल हालेर पकाएको मासु खाँदा स्वास्थ्यमा समस्या हुन्छ । त्यसैले मासु थोरै–थोरै खानुपर्छ ।

-फ्रिजमा राखेको मासुले पनि असर गर्छ । फ्रिजमा धेरै दिन मासु राख्दा पोषण तत्वसमेत हराउँछ । हामीले २४ देखि ४८ घन्टासम्म फ्रिजमा राखेको मासु मात्र खानुपर्छ । बासी तथा धेरै दिन सामान्य फ्रिजमा राखेको मासुमा पोषण तत्व हराउँछ । त्यसैले एकैचोटि धेरै होइन, थोरै–थोरै किनेर खानु राम्रो हुन्छ ।

-जुनसुकै खानेकुरा पनि थोरै–थोरै गरेर दिनमा ४–५ चोटि खानुपर्छ । यो नियमित खाने तरिका नै हो । दसैँमा पनि रमाइलोको नाममा धेरै खानुहुँदैन ।

-बेलुकाको खाना सकेसम्म कम खानुपर्छ । राति धेरै खाँदा अपच हुने, कब्जियत निम्तिने तथा मोटोपन बढ्न सक्छ ।

-धेरै चिल्लो खानुहुँदैन । चिल्लो पिरोमा नियन्त्रण गर्नुहोस् । यसले ग्यास्ट्रिक हुने, प्रेसर बढ्ने, खाना अमन हुने, बान्ता हुने, पचाउन नसक्ने, फुड प्वाइजन हुनेजस्ता समस्या निम्त्याउँछ । खानामा कार्बोहाइड्रेड, भिटामिन, मिनरल्स, प्रोटिन सबै मिलाउनुपर्छ ।

बिग्रेको मासु यसरी चिन्ने
डा. केदार कार्की, पशु स्वास्थ्यविज्ञ
दसैँमा घरमा धेरै मासु छ भने कसरी स्वस्थ र सुरक्षित राख्ने भन्ने समस्या पर्न सक्छ । अक्सिजनको मात्रा नमिल्दा मासुको स्वरूपमा आउने परिवर्तनले बिग्रिने गर्छ । सामान्य फ्रिजमा लामो समय राखेको मासु बिग्रिने तथा अस्वस्थकर हुने गर्छ । डिपफ्रिज सबै घरमा उपलब्ध हुँदैन । त्यसो भए मासु बिग्रेको कसरी थाहा पाउने ?

-ढुसी परेर बिग्रिएको मासु त हेर्दा प्रस्ट नै थाहा हुन्छ । मासुको कुनै भाग चिपचिप भएको छ भने पनि ठान्नुहोस् कि त्यो भागबाट मासु बिग्रिन सुरु भयो । मासु स्वाभाविक रंगको सट्टा फिक्का वा कालो, निलो हुन्छ । ग्यास उत्पादन हुने, गन्ध फरक आउने, बोसो पग्लेर जाने पनि हुन्छ । अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुका कारण मासु कुहिने र अमिलो स्वाद आउने हुन्छ । वेलैमा सावधानी अपनायो भने मात्र मासु गोठदेखि ओठसम्म सफा र स्वस्थकर हुन सक्छ ।

-मासु लामो समय सञ्चय गर्ने हो भने शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यो तापक्रमले मासुजन्य तन्तुमा हुने सबै खाले गतिविधि निष्क्रिय पार्छ र मासुको गुणस्तर बिगार्न सक्ने विषाणु, जीवाणु तथा ढुसीको संक्रमणबाट बचाउँछ । चिस्याएर राखेको मासु प्रेसर कुकरमा पकाएर खानु उत्तम हुन्छ ।

-राँगाको मासु १२ महिना, बंगुर तथा बदेलको ६ महिना, खसी, बोका, भेडा र च्यांग्राको ६ देखि ९ महिनासम्म चिस्याएर सुरक्षित गर्न सकिन्छ । तर, याद गर्नुहोस्, यो सामान्य फ्रिजमा चिस्याउने भनेको होइन । डिप फ्रिज आवश्यक पर्छ ।

-मासु अत्यधिक पकाएर खाँदा पनि स्वस्थ हुन्छ । यसरी पकाउँदा मासुका जीवाणु, विषाणु नस्ट हुन्छन् । योबाहेक १५० देखि १६० डिग्री फरेनहाइट तताएर पनि सुरक्षित गर्न सकिन्छ । यसरी पकाएपछि मासुलाई फ्रिजमा राखेर संरक्षण गर्नुपर्ने हुन्छ ।

-मासुलाई २५० डिग्री फरेनहाइटमा पकायो भने स्वास्थ्यमा असर गर्न सक्ने सबै जीवाणु तथा विषाणु नष्ट हुन्छन् । यसरी पकाएको मासु केही लामो समयसँग सुरक्षित राख्न सकिन्छ ।

-मासुलाई जलविग्रहीकरण गरेर पनि लामो समय सुरक्षित राख्न सकिन्छ । यो भनेको पानीको मात्रा पूरै नष्ट गरेर राख्नु हो । बोलीचालीको भाषामा यसलाई सुकुटी बनाउने भनिन्छ ।

-परम्परागत मरमसाला प्रयोग गरेर पनि मासु सुरक्षित राख्न सकिन्छ । यी मसलाले मासु सुरक्षित मात्रै गर्दैन, स्वाद पनि मिठो बनाइदिन्छ । तर, मसला भने प्राकृतिक रूपमा बनाइएको हुनुपर्छ । नयाँ पत्रिकाले छापेको छ ।

-अम्लीकरण गरेर पनि मासु लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । मासुमा हुने कार्बोहाइड्रेडलाई अम्ल अर्थात् एसिडमा परिवर्तन गरिनु हो । यसो गर्दा मासुमा रहेका जीवाण तथा विषाणुको संख्या वृद्धि हुन पाउँदैन र मासु बिग्रिनबाट जोगिन्छ ।

तपाईको प्रतिक्रिया