नेपालगन्ज – बाँकेमा शुक्रबार देखि एक प्रहरी एक टोल अभियानको सुरुवात गरिएको छ । देशभर सुरु भएको यो अभियानको बाँकेमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरुवात गरेका हुन । ‘शान्ति, सुरक्षा र सुशासन, जनमैत्रि प्रहरी र प्रशासन’ भन्ने नाराका साथ सुरु अभियानको उद्घाटन गर्दै केसीले प्रहरीको यो अभियानलाई सर्वसाधारण नागरिक, उद्योगी, व्यवसायी सञ्चारकर्मी सवैले साथ दिन आग्रह गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सुरक्षाको सवैले प्रत्याभुति गर्न सकेमात्र अभियानले सार्थकता पाउने वताइन । दसंै, तिहार, मोहर्रम, छठ पर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलापहरु रोकथाम गर्न र शान्ति सुव्यवस्था कायम गर्न टोलटोलमा प्रहरी अभियानले ठूलो मद्दत गर्ने बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले वताए ।

देशमा स्थानीय तह लागु भएपछि गाउँपालिका, नगरपालिका र वडाहरुमा ब्यापक हेरफेर भएकाले सोही अनुरुप प्रहरी परिचालन गरिएको तामाङले वताए । कार्यक्रममा शशस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया