काठमाडौँ – अभिनेत्री श्रद्धा कपुरले हालै भारतकी ब्याडमिन्टन खेलाडी सैना नेहवालको परिवारसँग समय बिताएकी छिन् । नेहवालकै घरमा भएको उक्त जमघटमा श्रद्धाले नेहवालकी आमाले बनाएको खाना खाएकी थिइन् । त्यस्तै नेहवालका बुवाले श्रद्धालाई नेहवालले जितेका ओलम्पिक तथा अरू पदक देखाएका थिए ।

श्रद्धाले नेहवालको घरमा पुरी, छोले, खिर, हलुवा र जुस खाएको विवरण सामाजिक सञ्जालमा खुलाएकी छिन् । उनले सोफामा नेहवालसँग बसेर खिचेको फोटो पनि पोस्ट गरेकी छिन् । अर्को फोटोमा नेहवालले लन्डन ओलम्पिक २०१२ मा जितेको कांस्य पदक पनि समेटिएको छ ।
नेहवालको जीवनीमा आधारित भई फिल्म बन्दै छ । नयाँ पत्रिकाले छापेको छ ।

उक्त फिल्ममा श्रद्धाले नेहवालको भूमिका निर्वाह गर्दै छिन् । त्यसैको तयारीस्वरूप श्रद्धाले नेहवालसँग आत्मीय सम्बन्ध बनाइरहेकी हुन् । नेहवालले पनि श्रद्धासँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । श्रद्धा अहिले आफ्नो पछिल्लो फिल्म ‘हसिना’को रिलिज कुर्दै छिन् । फिल्ममा श्रद्धाले डन दाउद इब्राहिमकी बहिनी हसिनाको भूमिका निर्वाह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया