काठमाडौँ – जापानमा रहेका छोराबुहारीलाई भेट्न र उतै बस्नका लागी दाजु र आमासँग बीदा माग्न आएकी बहिनी विष्णुमाया राईको सपना आगोको एकै लप्काले खरानी बनाइदियो । बुधबार बेलुका सँगै खाना खाएर सुतेका उनीसहित दाजु चन्द्र कुमार राइ,आमा गंगामाया राई र श्रीमती पार्वता राईको बिहिबार बिहान अचानक विद्युत सर्ट भई आगलागी हुँदा ४ जनाकै मृत्यु भएको छ । पूर्व वडाअध्यक्ष समेत रहेका चन्द्र समाजमा कसैको आँखामा राख्दा पनि नबिझाउने थिए ।

 

घरमै किराना पसल सञ्चालन गरेर बसेका उनको मृत्युको खबर पाएर त्यहाँ उपस्थित भएका हजारौँ मानिसहरुका आँखा रसाएका थिए । महेन्द्र राजमार्ग सँगै रहेको करिब १० किलोमिटर दक्षिणमा रहेको मोरङको कानेपोखरी गाउँपालिका वडा नं ३ मा रहेको चन्द्र कुमार राईको खरानी भएको घरमा बिहीबार पुग्दा सिंगो गाँउ नै शोकमग्न थियो । भाग्यवश उनका दुई छोराछोरी भने काठमाण्डौमा अध्ययनरत रहेका कारण बाँच्न सफल भएका छन् ।

बिहिबार बिहान २ बजे आगलागी हुँदा १ करोड बढीको क्षति भएको पथरी प्रहरीले जनाएको छ । आगलागीबाट एउटा हाते ट्रयाक्टर सहित घरका सबै सामान जलेका छन । चार जनाको शव भने चिन्न नसक्ने अवस्थामा निकालेको प्रहरीले जनाएको छ ।आगो नियन्त्रणका लागि इटहरी,दमक , विराटनगर लगायतका स्थानबाट गएको बारूणयन्त्रले करीव ३ घण्टा पछि नियन्त्रणमा लिएको थियो । घटनापछि परिवारको खोजी गर्ने क्रममा चारैजनाको अवशेष मात्र फेला परेको ईलाका प्रहरी कार्यालय पथरीका सहि राज कुमार बस्नेतले बताए ।

छिमेकी पुर्ण कन्दङवाका अनुसार बिहान ३ बजे घरको धुरीमा धुवाँको मुस्लो देखेपछि के भएर हेर्न जाँदा सिंगो घर जलिसकेको र बाँधेका चौपायाहरु फुकाएपनि मानिसहरु बचाउन नसकेको बताए । चन्द्रका २ छोराछोरी रचना र राजकुमार काठमाण्डौमा अध्यनरत छन् । बहिनी विष्णुका जेठा छोरा बुहारी जापानमा बस्दै आएका छन् । उनी पनि जापान जाने तयारीमा आमा र दाजुसँग बिदा माग्न माइतीघरमा आएकी थिइन । यो घटनाले सिंगो कानेपोखरी गाउँपालिका शोकमग्न छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया