गोरखा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताउनुभएको छ ।

गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई आज प्रशिक्षण दिँदै उहाँले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट भोट तान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी विचार र लाइनमा अस्पष्ट भएजस्तो देखियो । जनयुद्धताका के गर्ने, कसो गर्ने भन्ने स्पष्ट थियो, शान्ति प्रक्रियापछि रुमलिएको जस्तो भएको छ । पार्टी र नेता बिग्रिएका हुन् कि, कार्यकर्ता अल्छी भएका हुन् कि जस्तो भयो ।”

जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पार्टी र नेताबाट केही गल्ती भएको स्वीकार्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियापछि प्रतिक्रियावादीले माओवादी पार्टीलाई फुटाएको आरोप लगाउनुभयो । नेता, कार्यकर्तामा जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने भ्रम बाँकी रहेको भन्दै उहाँले माओवादीले क्रान्ति नछाडेको र निरन्तर क्रान्तिमै रहेको प्रष्टीकरण दिँदै भन्नुभयो, “शान्ति प्रक्रियामा आउनु ठिक हो वा होइन भन्ने ‘कन्फ्युजन’ छ । शान्ति प्रक्रियामा आउनु ठिक हो । जनयुद्ध मात्रै गरेको भए पेरुको जस्तो माओवादीको अस्तित्व नै सकिन्थ्यो ।”

माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द, डा बाबुराम भट्टराई र मोहन वैद्यको नीति ठिक छैन भन्ने जनताको अभिमतबाट देखिएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “माक्र्सवादलाई लात हानेर गएका बाबुरामविरुद्ध सच्चा माक्र्सवादी गोरखा क्षेत्र नं २ मा उठाउँछौ ।”

पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत एजेण्डा माओवादीको भए पनि जनतालाई बुझाउन नसक्दा माओवादी पराजित भएको बताउनुभयो । माओवादीले बास्मती चामल फलाएर पनि बिक्री गर्न नसकेको भन्दै अध्यक्ष दाहालले अरु दलहरुले कुहिएको पीठो बिक्री गरेको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया