काठमाडौँ । हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल (धुर्मुस) ले रौतहटमा एकिकृत बस्ती शिलान्यास गर्दै जन्म दिन मनाएका छन् । एकिकृत बस्ती निर्माणमा ह्याट्रिक गरिसकेका उनले चन्द्रपुर नगरपालिका ८, सन्तपुरका बाढी प्रभावितका लागि निर्माण गर्न लागिएको बस्ती शिलान्यास गरेर जन्म दिन मनाएका हुन् । कुञ्जना घिमिरे (सुन्तली) सँगै रौतहट पुगेका उनले बस्तीकै १ सय ७ वर्षिय रामकलिया देवी हजाराको हातबाट संयुक्त रुपमा बस्ती शिलान्यास गरेका हुन् ।

धुर्मुसको जन्म दिनबाटै काम सुरु भएर आउँदो माघ २४ गते बिहान ९ बजे एकिकृत नमुना सन्तपुर बस्तीको हस्तान्तरण गर्ने धुर्मुस सुन्तली फाउण्डेशनको लक्ष्य छ । ५ करोड ७५ लाख लागत लाग्ने अनुमानसहित सुरु गरिएको यस परियोजनामा ४५ आवासीय घर, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, भ्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिएका छन् ।

कुञ्जना घिमिरे (सुन्तली) ले जन्म दिनमा बस्ती शिलान्यास गरेकोमा खुशी व्यक्त गरेकी छिन् । धुर्मुसले आफ्नो हरेक जन्मदिनमा यसरी नै पुण्यको काम गर्दै अघि बढ्न हौसला मिलोस् भन्दै शुभकामना दिएकी छिन् । धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजामलगायतका मानिस बसोबास गर्दछन् ।

तपाईको प्रतिक्रिया