काठमाडौं – यो निकै पुरानो कहानी हो । कसको भाग्य कहिले, कहाँ र कसरी बदलिन्छ, कसैले जान्दैन । यो कहानी अमेरिकाको दक्षिणपूर्वी क्षेत्र उत्तर क्यारोलिनाका एक युवकसँग मेल खाएको छ । २० वर्षीय मेखी अलान्टे लक्कीको जीवनमा नसोचेको परिवर्तन भयो, जब उनी जेल परे । हो, जेलबाटै उनको भाग्य बदलियो ।

सुन्दा पक्कै अचम्म लाग्छ, तर नपत्याई धरै छैन । पहिले चोरीमा संलग्न थिए, मेखी । कैयाँै चोरी गरे । अन्ततः उनी प्रहरीको फन्दामा परे । चोरी पेसाले उनलाई जेलको चिसो छिँडीमा पुर्‍यायो । चिन्नेहरू अधिकांशले ठाने, उनको जीवन अब जेलमै सकिन्छ । जेलमै सड्नेछ, मेखी ।

तर, नतिजा फरक निस्कियो । मेखी चर्चित मोडलका रूपमा बदलिए । आज मोडलिङ जगत् र सामाजिक सञ्जालमा उनी चर्चित अनुहार बनेर उदाएका छन् ।

मेखी गाडी चोरी गर्थे । अप्रिल २०१६ मा उनी चोरीको आरोपमा गिरफ्तारमा परे । प्रहरीले जब उनको तस्बिर सार्वजनिक गर्‍यो, तब सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिर भाइरल हुनुको कारण थियो, उनको फरक–फरक रंगको आँखा । प्रहरी स्टेसनमा लैजाँदै गरेको तस्बिर सार्वजनिक भएपछि मोडलिङ एजेन्सी ‘क्लायर’को नजर मेखीमाथि पर्‍यो ।

उनको दुई रंगको आँखाकै आकर्षणकै कारण उनलाई मोडलिङमा ‘कन्ट्र्याक्ट’ मिल्यो । मेखीलाई इन्स्टाग्राममा दुई लाखभन्दा बढीले पछ्याएका छन् । अहिले कसैले भन्दैन कि ऊ चोर हो । मेखी लोकप्रिय मोडल भइसके । नयाँ पत्रिकामा खबर छ ।

त्यसो त यसअघि पनि एउटा चोरको भाग्यको साँचो प्रहरी स्टेसनबाटै खुलिसकेको थियो । मार्च २०१४ मा अमेरिकाकै जर्मी मिक्सको तस्बिर यति भाइरल भयो कि उनलाई करिब ३६ लाख रुपैयाँको मोडलिङ ‘कन्ट्र्याक्ट’ मिलेको थियो ।

तपाईको प्रतिक्रिया