महोत्तरी – सोमबार मतदान सम्पन्न भएका महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये नौ ठाउँको मतगणना अहिले जारी छ ।

आज बिहान शुरु भएको मतगणनाको प्रारम्भिक अवस्था सार्वजनिक हुन थालेका छन् जसअनुसार जलेश्वर र भङ्गाहा नगरपालिकामा १०० मतपत्र गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, बर्दिवास, रामगोपालपुर, मनरा शिस्वा, बलवा र गौशालामा मतपत्र गन्न शुरु गरिएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सात नपा र दुई गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।


बाँकी तीन नगरपालिका र तीन गाउँपालिकाको अहिले बिहान ८ बजे मतगणना शुरु गरिने सहमतिअनुसार तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महोत्तरीमा हिजो सम्पन्न चुनावमा कुल तीनलाख आठहजार ४०४ मतदातामध्ये ७३ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया