काठमाण्डौ । सरकारले निर्वाचन आचारसंहिताको उल्लंघन गरेकोमा राप्रपा निकट युवा संगठनले कारबाहीको माग गरेको छ । राप्रपा निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले निर्वाचनको कार्य तालिका सार्वजनिक भईसकेको अवस्थामा मन्त्री परिषदले सरकार विस्तार गर्ने, न्यायाधिश, सि.डि.यो सरुवा गर्ने लगायत आचारसंहिता उल्लंघनका विभिन्न कार्य गरेकोमा सरकारलाई समेत कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा “नेपाल सरकारले विधि विधानको परिपालना नगर्नु, आचारसंहिताको उल्लंघन गरी संवैधानिक निकायको उपहास गर्नुले देशमा नियम कानुनको खिल्ली उडाएको छ भने यस्ता घटनाले दण्डहिनतालाई समेत बढावा दिनेछ । आचारसंहिताको उल्लंघन गर्ने र गराउनेलाई निर्वाचन आयोगले निर्वाचन आयोग ऐन बमोजिम कारबाही गर्न नसक्ने होइन् । तर निर्वाचन आयोगले उक्त घटनाप्रति सचेत गराउने, कारबाही गर्ने र परिपालनाको लागि कडी कढाउ गर्ने समेतका कार्य गर्नुपर्नेमा लाचार भई केहि गर्न नसक्नुले निर्वाचन आयोग जस्तो संवैधानिक निकायप्रति जनअपेक्षा समेत घटेको हामीले बुझेका छौं ।

निर्वाचन आयोगका प्रमुख आयुक्तले सार्वजनिक रुपमै प्रधानमन्त्रीलाई कारबाही गर्न नसकिने भनि अभिव्यक्ति दिएकोमा हामीलाई आश्चर्य समेत लागेको छ । के नियम, विधि, विधान प्रधानमन्त्रीलाई नलाग्ने हो ? कानुनी राज्यको अवधारण अनुरुप कोही पनि नियम कानुन भन्दा माथी छैन् तर पनि नेपाल सरकारको सम्मानित पद धारण गरेका व्यक्तिले यसको उल्लंघन गर्न किन्चित मात्र पनि हिचकिचाउदैनन् ।

हामीले सुशासन चहाने हो भने सबैले विधि विधानलाई अनिवार्य पालन गर्नुपर्दछ र नगर्नेलाई कारबाही समेत गर्नु पर्दछ । तसर्थ यस विज्ञप्तिद्धारा राप्रयुसं निर्वाचन आयोगलाई आचारसंहिताको परिपालना गराउन कडि कढाउ गर्न तथा उल्लंघन गर्नेलाई कारबाही गर्न समेत माग गर्दछ ।” भनि उल्लेख गरिएको छ । मन्त्री परिषदले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै आजै मात्र राप्रपा (प्रजातान्त्रिक) दुई सांसदलाई राज्य मन्त्रीमा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया