कास्की – हिन्दु धर्मालम्बीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको माहोल नजिकिदै छ | मनाङ्ग र मुस्तांग बाट दशैंको लागि कास्की र आसपासका जिल्लाहरुमा च्यांग्रा भेडा भित्रिने क्रम पनि बढ्दो छ | गत बर्ष जस्तै यसपाली पनि भेडा र च्यांग्राको मूल्यलाइ लिएर अनेक कुराहरु उठ्न थालेका छन् | भेडा च्यांग्राको आकासिदो मूल्यले गर्दा साधारण जनताले मासुको स्वाद लिन पाउने हुन या होइनन भन्ने कुरा पनि आउन थालेका छन् | गत दशैंमा भेडा च्यांग्राको मूल्य १५ हजारको हाराहारीमा खरिद बिक्रि भएको थियो भने यसपाली भेडा र च्यांग्राको मूल्य लगभग २५००० को हाराहारीमा पुग्ने निश्चित जस्तै भएको छ |

भेडा च्यांग्राको तौल र मूल्य को अनुपात नमिल्दा सम्पूर्ण उपभोक्ता मारमा पर्दै आएका छन् | यसपाली त च्यांग्रा खान सकिदैन होला बिरौटाका रोशन श्रेष्ठ भन्छन | त्यस्तै घारीपाटनका उमेश जिसी भन्छन बिस हजार को च्यांग्रामा १० किलो मासु हुदैन त्यसैले च्यांग्रा खाने इछ्या हुदा हुदै पनि मूल्यका कारण खान नसकिने बताउछन् | मूल्य निर्धारण र अनुगमन गर्ने निकाय नै छैन भन्छन जिसी | प्रति के जी एक हजार देखि एक हजार पाच सय सम्म भए पनि फरक पर्दैन तर यहाँ त दुइ हजार देखि पच्चीस सय सम्म पर्ने गरेको बताउछन् उपभोक्ताहरु |

के कारणले भेडा च्यांग्राको मूल्य आकासिदो भएको हो भन्ने प्रश्नको जवाफ कसैसंग छैन | खरिद मूल्य र बिक्रि मूल्य संगै बिचौलियाको चलखेल कत्तिको हुने गरेको छ भनेर कसैले हेक्का पनि गरेको छैन | हरेक दशैंको सप्तमीमा जिल्ला प्रशाशन कार्यालयका कर्मचारी ,कास्कीका प्रहरी प्रमुख , उपभोक्ता मंचका पधादिकारीहरु , नागरिक अगुवाहरु अनुगमन गर्न गए झैँ गर्छन र फर्कनछन् तर त्यो अनुगमनले जनताको आँखामा छारो हाल्ने काम मात्र गर्दछ | भेडा च्यांग्राको मूल्यबारे कसैले केहि बोलेको पाहिदैन भन्ने गर्छन पोखराबासी | मूल्य निर्धारण तथा समायोजन गर्ने जिम्बेवार निकाय नै छैनन् भन्ने आम उपभोक्ताको गुनासो रहने गरेको छ | मनपरी तरिकाले खसी भेडा तथा च्यांग्रा कास्कीमा भित्र्याउने र बिक्रि गर्नेहरुलाई कुनै प्रकारको कारबाही हुने गरेको छैन | खरिद मूल्य र बिक्रि मूल्य को अन्तर कति हो भन्ने कुराको जानकारी नै नहुने गरेको अनुगमन टोलिका एक सदस्य बताउछन् |

यसपाली पनि दशैंमा अनुगमनको नाममा सम्बन्धित निकायका पधादिकारीहरु बजारमा झुल्किने काम त पक्कै पनि होला तर अनुगमनको नाममा रमाइलो हेर्ने र भत्त्ता पचाउने काम नगर्न पोखरेली उपभोक्ताहरु अनुरोध गर्दछन् | कि अनुगमन नै नगरे हुन्छ , होइन भने अनुगमन गरे जस्तो नगर्न र मूल्य सामायोजन र मूल्य निर्धारणमा आवश्यक कदम चाल्नुपर्छ |

तपाईको प्रतिक्रिया