विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ पीडारवनीकी ६० वर्षीय गेरीदेवी माझीको शव दुई दिनदेखि विराटनगरको न्युरो अस्पतालमा छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएपछि माझीलाई भदौ २८ गते उपचारका लागि न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको को १७ प १२५९ नम्बरको मोटरसाइकलले पैदलयात्री माझीलाई भदौ २८ गते राति ठक्कर दिएर घाइते बनाएको थियो। उनलाई तत्काल उपचारका क्रममा नोवेल मेडिकल कलेजमा लगिएको थियो।

नोवेलमा उपचार गराइरहेकी माझीलाई दलाल र एम्बुलेन्स चालकले न्यूरो अस्पतालमा प्रभावकारी उपचार हुने भन्दै माझीका आफन्तलाई फकाएर घाइतेलाई उपचारका लागि न्युरो लैजान बाध्य पारेका थिए।

पेटको शल्यक्रिया गरिएकी माझीको उपचारका क्रममा शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो । तर आफन्तलाई अस्पताल प्रशासनले अहिलेसम्म शव दिएको छैन। अस्पतालले आफन्तलाई नदिइकन शव आफ्नै नियन्त्रणमा राखेको छ।

उपचार गरे बापत न्युरोलाई तीन लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी रहेको गेरीदेवीका छोरा सुमन माझीले बताए। ‘चिकित्सकले दुर्घटनाका कारण पेटमा चोट लागेको छ भनेर शल्यक्रिया गरिदिए,’ उनले भने, ‘शल्यक्रिया गरेर थप उपचार सुरु गरेपछि आमाको मृत्यु भयो ।’ चिकित्सकले लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरिदिएका कारण आमाको मृत्यु भएको सुमनले बताए। ‘उपचारमा लापरवाही गरिएका कारण बिरामीको मृत्यु भएको छ र पैसा नतिरेको भनेर शव आफन्तको जिम्मा नदिनुले समस्या भइरहेको छ,’ सुमनले भने, ‘हामी परिवारका सदस्यले शव लगेर अन्त्येष्टी पनि गर्न पाएनौं।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

अस्पतालले पैसा नतिरिकन शव दिन नसकिने भन्दै आफन्तलाई फर्काइदिएको छ। दुर्घटना गराउने मोटरसाइकल चालक बेलबारी २ का ५० वर्षीय योगेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थापाले शनिबार मात्रै माझीको उपचारका लागि भनेर ५० हजार रुपैयाँ ऋण गरेर पठाएका थिए। थापा र माझीको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा उपचार गराए बापतको रकम तिर्न सक्ने अवस्था नभएको बताइएको छ।

तपाईको प्रतिक्रिया