काठमाडौं- हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फेरि फिल्म निर्माणमा फर्केका छन् । झन्डै दुई दशकअघि ‘फिलिम’ नामक फिल्म बनाएका उनीहरूले नयाँ फिल्म ‘शत्रु गते’ घोषणा गरेका छन् ।

०७३ सालको चर्चित फिल्म ‘जात्रा’का निर्देशक प्रदीप भट्टराईले नै ‘शत्रु गते’को निर्देशन अभिभारा पाएका छन् । प्रदीप विगत १३ वर्षदेखि मह जोडीकै प्रोडक्सन हाउस ‘मह सञ्चार’को निर्देशकीय टिममा काम गर्दै आएका छन् । उनी ‘मह’कै ‘प्रोडक्ट’ हुन् ।

प्रदीपलाई फिल्म निर्देशनमा आफूहरूले नै ब्रेक दिन खोजेको, तर विशेष कारणवश मह सञ्चारको फिल्म निर्माण योजनामा ढिलाइ भएको हरिवंशले शुक्रबार ललितपुरमा आयोजित फिल्म घोषणा समारोहमा बताए । ‘हाम्रो फिल्म बनाउने योजना तत्काल रोकिएपछि प्रदीपले ‘जात्रा’बाट ब्रेक पाएका हुन्,’ हरिवंशले थपे, ‘जेहोस्, ढिलै भए पनि हामीले निर्देशनको जिम्मेवारी प्रदीपलाई सुम्पिन पाउँदा खुसी लागेको छ।’

आफू फिल्महरूलाई पहिलो, दोस्रो भनेर गणना नगर्ने निर्देशक प्रदीपले प्रस्ट्याए । ‘मेरा लागि शत्रु गते पनि पहिलो फिल्म हो, मह सञ्चारबाट गर्न लागेको यो मेरो पहिलो फिल्म नै हो,’ उनले भने, ‘म हरेक फिल्मलाई पहिलो नै ठानेर मिहिनेत गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’

फिल्मको शीर्षक अनौठो लागे पनि कथालाई एकदम सुहाउने रहेको पनि निर्देशक प्रदीपले बताए । हरिवंशको कथा रहेको फिल्मको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराई तथा संवाद हरिवंश र प्रदीप मिलेर तयार पारेका हुन् ।

आगामी कात्तिक १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई यही वर्षको चैत ९ गते रिलिज गर्ने योजना निर्माण पक्षले लिएका छन् । मह सञ्चारले प्रस्तुत गरेको फिल्ममा किरण केसी कार्यकारी निर्माता छन् भने रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्यालसमेत निर्माता छन् । नयाँ पत्रिकाले छापेको छ ।

दीर्घ गुरुङको छायांकन, राजनराज सिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहने फिल्ममा मह जोडीका अलावा दीपकराज गिरी, दीपाश्री, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, वसुन्धरा भुसाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजू, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारले अभिनय गर्नेछन् । कार्यकारी निर्माता किरण केसीले दामका लागि फिल्म बनाउन लागिएको बताए भने मदनकृष्ण श्रेष्ठले चाहिँ माया कमाउन फिल्म निर्माण गर्न लागिएको अवगत गराए ।

तपाईको प्रतिक्रिया