काठमाडौं, ३१ भदौ । कोरियामा रहेका नेपालीहरु माझ प्रिय नाम हो राजेश बाबु श्रेष्ठ । उनी त्यहाँ रहेका नेपालीहरुलाई परेको समस्या आफ्नै सम्झन्छन् र दिन रात नभनी सहयोग गर्छन् । सरल स्वभाव र सहयोगी भावनाका कारण उनी सबैका प्रिय छन् ।

सन् २००४ मा ‘ट्रेनिङ’ भिषामा करिया पुगेका हुन् । चितवन भरतपुर घर भएका श्रेष्ठले सन् २००८ मा भिषा परिवर्तन गरे । उनले व्यवसायिक भिषा बनाए । त्यसपछि उनले रेष्टुरेन्ट व्यवसाय सुरु गरे । अहिले उनले जे जति सफलता प्राप्त गरेका छन् त्यसको पछाडीको कारण त्यही रेष्टुरेन्ट हो । कोरियन भाषामा राम्रो दखल भएका उनको रेस्टुरेन्ट नेपाली र भारतिय खानाको लागी प्रसिद्ध छ । कोरियाको राजधानी सोउलबाट १ घण्टाको दुरीमा पर्ने छनान मेट्रो स्टेशन को अगाडी ‘माउन्ट फिस्टेल’ नामको रेस्टुरेन्ट उनको पहिलो रेस्टुरेन्ट हो । जहाँ नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी,पश्चिमा, अमेरिकी का साथै कोरियन ग्राहकको सधै घुईचो लाग्छ ।

कोरियन समाजमा समेत उनको राम्रो पकड छ । कोरियन समाजमा पनि राजेश र उनकी पत्नि पूनम त्यतिकै प्यारा छन् । पहिलो रेस्टुरेन्टबाट सफलता प्राप्त गरेपछि सन् २०१४ मा छनान कै याहुरी वस टर्मिनल अगाडी ‘इन्डीया महल’ नामक अर्को रेस्टुरेन्ट खोले ।
यी दुई सफल रेस्टुरेन्टबाट उत्साहित बनेका राजेश कोरिया लाईनै आधार वनाएर थप व्यवसाय अगाडी बढाउने सोचमा रहेको बताउँछन् । आगामी सेप्टेम्वरको १६ तारिखमा उनले सोउलबाट १ घण्टाको दुरीमा रहेको फेन्थेक रेल्वे स्टेसनको अगाडी आफ्नो तेस्रो रेस्टरेन्ट ‘माउन्टेन रेस्टुरेन्ट’ सुरुवात गर्दैछन् ।

श्रेष्ठ कोरिया आउन चाहाने युवाहरुलाई दलालको प्रलोभनमा नपरि इपिएसको माध्यमबाट आउन आग्रह गर्छन् । ‘यहाँ रुप, रंग भन्दा कामलाई मान्यता दिइन्छ । यहाँ मेहनतको उच्च कदर हुन्छ । कोरिया गएर काम गर्न सक्छु भन्ने आत्मविश्वास लिएर आउँदा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘कोरियामा रहेकाहरुलाई कानुनी मान्यता प्राप्त बैंकिङ प्रणाली मार्फत आफुले मेहनत गरी आर्जन गरेको पैसा पठाउन अनुरोध समेत गर्दछु ।’

उनी दलालहरुको चंगुलमा परी हुन्डी मार्फत पैसा नपठाउन आग्रह समेत गर्छन् । ‘कोरियामा यस्ता घटनाहरु घटिरहेका छन् । हामी ले पठाएको पैसा घर परिवारको हातमा नपरी दलालहरु भागेका उदाहरण पनि छन् । त्यसैले कमाएको धन कानूनी मान्यता प्राप्त संस्था वाट पठाउँदा रेमिट्यान्सले देश विकासमा समेत टेवा पुग्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया