काठमाडौँ- १९ वर्षमा विवाह बन्धनमा बाँधिएकी मदाने गाउँपालिका–२ की मनी परियारले २८ वर्षको उमेरमा २ महिनाअघि छोरो जन्माइन् । तर, यो उनको पहिलो सन्तान भने होइन । यसअघि नै उनले चार छोरी पाइसकेकी छिन् । छोरोको आश गर्दागर्दै उनले चार छोरी पाइन् । जब छोरो पाइन् श्रीमान् भने रहेनन् ।

श्रीमान् बितेको २० दिन भयो, मनी परियारका आँखा ओभाएका छैनन् । श्रीमान्सँगको बिछोडको पीडा मनमा बाँधेर उनी गाउँमा खाद्यान्न र पैसा उठाउन बाध्य छिन् । आँसुले भिजेका आँखा र मनमा भएको पीडा लुकाउनसमेत उनले पाएकी छैनन् । डोकोमा दुईमहिने दुधे बालक बोकेर गाउँलेसँग खाद्यान्य र पैसा नउठाए उनको परिवारको हातमुख जोरिँदैन । घरभरि छोरी छन्, भकारी रित्तो छ । उनीसँग अहिले चित्त बुझाउने कुनै माध्यम छैन । उनीसँग ओत लाग्ने घर त छ, तर एक महिना पुग्ने अन्न फल्ने जमिन छैन ।

गाउँमा ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका उनका श्रीमान् रनबहादुर परियारकोे गत ७ भदौमा मृत्यु भयो । ‘घरको मुल खाँबो नै ढल्यो,’ मनीले भनिन्, ‘यो चिल्लीबिल्ली कसरी चित्त बुझाऊँ ।’ उनी दुई महिनाकी सुत्केरी हुन् । कुनै राम्रो परिवारमा भए उनी माइतमै हुन्थिन् । मीठो–मसिनो खाने र आराम गर्ने वेलामा मनी बच्चा डोकोमा बोकेर गाउँ चहार्छिन् । ‘मैले नमागे कसले माग्ने ?’ उनले प्रश्न गरिन्, ‘७५ वर्षे बुढी सासू र चार छोरी कसरी पाल्ने ?’ बाँच्नकै लागि किरिया उम्केको अर्को दिनबाट उनी बच्चा बोकेर गाउँ डुलेकी हुन् । ‘सुत्केरी भए पनि घरमा केही छैन, माग्दा जे दिन्छन्, त्यही खान्छिन् ।’ अशिक्षित एवं विपन्न परिवार । जनचेतना अभावकै कारण उनलाई धेरै सन्तान जन्माउँदाका बेफाइदाको पत्तो थिएन । ‘खै बुढाकै जिद्दीमा चार छोरी जन्मिए, कसैले केही भनेनन्,’ उनले भनिन्,‘ छोरो पनि जन्मियो, उनी पनि बिते ।’ श्रीमान् बितेपछि धेरै सन्तान जन्माएकोमा पछुतो लागेको मनीले सुनाइन् ।

चन्दा उठाएर श्रीमान्को किरिया
गाउँलेले चन्दा उठाएर श्रीमान्को किरियाबाट मनी परियारलाई उम्काएको स्थानीय मोतीलाल केसीले बताए । ‘न गर्ने मान्छे, न फल्ने बारी, श्रीमान् पनि मरे,’ उनले भने, ‘त्यो दर्दनाक अवस्था देखेर मैले पनि खाता काटी दिएँ ।’ अहिले उनकी जेठी छोरी ६ वर्षको भइन् । माइली ३, साइँली २, कान्छी १ वर्षका भए ।

उनको काखमा दुई महिनाको छोरो छ । माइली छोरी पनि बालशिक्षा जाने उमेरकी भइसकिन् तर, ६ वर्षीया छोरीले पनि स्कुलको मुख देखेकी छैनन् । ‘जेठी स्कुल गए अरू केटाकेटी कसले हेर्ने,’ मनीले भनिन्, ‘उसले बहिनी हेर्थी, हामी काममा जान्थ्थौँ ।’ अहिले त्यो विपन्न परिवारका लागि समुदायस्तरबाट सहयोग जुटाउने क्रम चलिरहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट विष्णु भुसालले बताए । आफ्नो संस्थामा कार्यरत सबै कर्मचारीबाट नगद र संस्थाको तर्फबाट परिवारका सबै सदस्यको निःशुल्क उपचार गर्नेबारे छलफल भइरहेको उनले बताए ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया