ठाकुरद्वारा (बर्दिया), ३० भदौ । तीन दशकको प्रयासपछि विश्वमै लोपोन्मुख घडियाल गोहीले बर्दियामा बच्चा कोरल्न थालेको छ ।

विगतमा पटक–पटक बच्चा हुर्काउने प्रयास असफल भए पनि ३२ वर्षपछि भने गत वर्षबाट प्रजनन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

गएको वर्ष गोहीले २४ वटा बच्चा कोरलेको थियो । यो वर्ष भने १४ वटा बच्चा कोरलेको थापा बताउनुहुन्छ । उहाँका अनुसार बर्दियामा अहिले ३८ बच्चासहित वयस्क र अर्ध वयस्क १२ वटा गरी ५० गोही छन् ।

शुरुमा गोहीको जनचेतना जगाउन भन्दै शुरु भएको गोही पालन अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएकामा खुशी छन् संरक्षणकर्मीहरु ।

चितवनको कसरामा नेपालकै एकमात्र गोही प्रजनन केन्द्र रहेकामा अब बर्दियामा पनि प्रजनन केन्द्र बनेसँगै संरक्षणमा महत्वपूर्ण उपलब्धि भएको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख तथा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताउनुभयो ।

घडियाल गोही गैँडाभन्दा पनि दुर्लभ हुँदै गएको छ । प्राकृतिक वासस्थानमा यसको मृत्युदर ९९ प्रतिशत छ । नेपालमा पाइने अर्काे मगर गोहीको संख्या भने केही राम्रै रहेको पाइएको छ ।

विश्वका विभिन्न देशमा लोप भइसकेको घडियाल नेपालमा प्रजनन केन्द्र नभएको भए पहिले नै लोप भइसक्ने खड्का बताउनुहुन्छ । हाल नेपालका विभिन्न नदीमा १९८ वटा गोही रहेको तथ्यांक छ । जसमा चितवनमा मात्रै १६६ वटा गोही छन् ।

कालीगण्डकीमा लगेर छाडिएको गोही लोप भइसकेका छन् भने बर्दियाको कर्णाली र बबई नदीमा सयौँ गोही छाडिए पनि अहिले कर्णालीमा एउटा देखिएको र बबई नदीमा पाँच भालेसहित ३१ वटा घडियाल रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख थापा बताउनुहुन्छ ।

“अब प्रजाति जोगाउन प्रजनन केन्द्र कोसेढुंगा बनेको छ”, थापा भन्नुहुन्छ, प्राकृतिक वासस्थानकै जसरी हामीले संरक्षण गरिरहेका छौँ ।” ड्रेनको सहयोगमा गएको वर्ष नेपालमै पहिलोपटक बबई नदीमा गोहीको अनुगमन भएको थियो ।

बर्दियामा २०४० सालमा गोहीको जनचेतना जगाउन भन्दै चितवनबाट शुरुमा चार र पटक–पटक गरेर १२ वटा घडियाल ल्याइएको थियो । दश वर्षसम्म नदीबाट गोहीको अण्डा ल्याउँदै कोरल्ने प्रयास असफल भएको थियो तर गएको वर्ष गोहीले आफैँ अण्डा पारेर बच्चा निकालेको हो ।

त्यही गोहीको सन्तान गरेर अहिले ५० पुगेको छ । गतवर्षबाट कोरलेका बच्चासमेत हुर्कन थालेका छन् । चितवनमा २०३५ सालमा प्रजनन केन्द्र स्थापना गरिएको थियो । विसं २०५० पछि यहाँ बच्चा कोरलिएको थियो । चितवनमा बच्चा कोरल्न झण्डै दुई दशक लागे पनि बर्दियामा तीन दशकपछि मात्रै कोरलेको हो ।

घडियाल गोही भएको नदी सफा र स्वच्छ मानिन्छ । गोही देखेको स्थानमा माछा तथा अन्य पानीमा बस्ने प्रजाति पनि सजिलै भेटिन्छन् । त्यसैले पनि पारिस्थितिक प्रणालीमा गोहीको अति महत्व हुने गर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेश थापा शुरुमा टन्न खाएन भने पछि सुक्दै–सुक्दै मर्ने गरेको बताउनुहुन्छ । “त्यसैले हामीले शुरुमै मान्छेले नखुवाई उसलाई आफैँ खान लगाउने गरेका छौँ, यो नयाँ प्रयोग हो”, थापाले भन्नुभयो ।

पहिले विश्वका धेरै मुलुकमा घडियाल गोही थिए । अहिले पाकिस्तान, भुटान, श्रीलंकामा गोही लोप भइसकेको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख बेदप्रसाद खड्काको दाबी छ । “बंगलादेशमा प्रजनन केन्द्रमा मात्रै छ, नत्र भारत नेपालमै हो गोही भएको”, खड्काले भन्नुभयो । अझ प्राकृतिक वासस्थानमा घडियालका बच्चा मर्ने दर डरलाग्दो छ ।

मर्नुमा सहायक नदीको अवस्था, भारत जाने, नदी प्रदूषण विभिन्न कारण छन् । निकुञ्ज बाहिर वासस्थान नै छैन गोहीका लागि ।

गोही लोप हुनुमा पानी प्रदूषण, विषादी, जालमा परेर मर्ने, अरु गोहीले खाइदिने, चरा चिलले पनि लैजाने, रोगव्याधी तथा बाघले पनि खाईदिने लगायत कारण छन् । त्यसैले अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालयले मृत्युदर पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ ।

सन् २००७ मा वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले अध्ययन गर्दा १०÷१२ किसिममा समस्या फेला परेका थिए । पानीको संक्रमण समस्या बढी देखिएको थियो । खोलाको पानी नहाली जमिनमुनिको पानी प्रयोग गर्न आफूले सुझाव दिएको डा गैरेले बताउनुभयो ।

चितवनमा यो वर्ष गोहीले २०० बढी बच्चा कोरल्यो

चितवन निकुञ्जको गोही प्रजनन केन्द्रमा यो वर्ष २०० बढी बच्चा कोरलेको छ । केहीले प्रजनन केन्द्रमै अण्डा पारेका थिए भने प्राकृतिक वासस्थानमा गोहीले पारेका अण्डा संकलन गरेर ल्याएको अण्डाबाट समेत बच्चा कोरलेको छ ।

हाल चितवनको प्रजनन केन्द्रमा ६०० माथि गोही छन्, एउटा वयस्क भाले छ भने १२ वटा वयस्क पोथी छन् । हाल निकुञ्जले एक हजार २२६ गोही विभिन्न नदीमा छाडेको थियो ।

अधिकांश नारायणी र राप्तीमा छाडिएको थियो । तर अहिले अनुगमनमा चितवनमा जम्मा १६६ फेला पार्नुले पनि छाडेका गोही १० प्रतिशत पनि बाँचेको देखिँदैन ।

प्राकृतिक वासस्थामा रहेको एउटा गोहीसमेत केही महिनाअघि जालमा अड्किएर मरेकाले प्रजननमा समस्या हुने देखिएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेल बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया