महोत्तरी। स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गरे।

तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले खुलासा गरे। हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे।

भारत र नेपालको सम्बन्ध बलियो रहेको उनले स्पष्ट पारे। सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे।

उनले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाए। मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोप समेत उनले लगाए।
काँग्रेसका महामन्त्री शशांक कोइरालाले मधेशका मधेशीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताए। संविधान संशोधन गरेर मधेशको माग पूरागर्ने उनले जिकिर गरे।

त्यस्तै, काँग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेशमा पराजित हुने दाबी गरे।

काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले काँगे्रस जबजब हा¥यो तब तब देश हारेको बताए। त्यसैले काँग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेको उनकाे भनाइ थियाे।

नेता रामशरण महतले सिके राउत, जयकृष्ण गोइत र केपी ओली प्रवृत्तिले राष्ट्रियता खतरामा परेको औँल्याए। काँग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमालेले प्रजातन्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाए।

काँग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिलेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गरे। संविधानमा लेखेको कुरा पुरा काँग्रेसले गर्ने उनले विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया