काठमाडौं – ‘बाबा म यहाँ राम्रोसँग पढ्दै काम पनि गरिरहेकी छु। तपाईँहरूले मेरो कुनै चिन्ता नलिनुस् है’, २००९ अगस्ट २६ मा सविना महर्जनले जापानबाट फोन गर्दै पुल्चोकमा बस्ने बुवा सानुलाललाई भनेकी थिइन्। त्यहाँदेखि सानुलालले ‘कान्छी’को स्वर सुनेका छैनन्। सविना परिवारकी कान्छी छोरी हुन्।

सविनाले फोन गरेको तीनदिनपछि सानुलाललाई धर्मराज अधिकारीको फोन अायो। त्यसपछि सानुलाल छाँगाबाट खसेजस्तो भए। उनी भक्कानिएर बेहोस भए। ‘तपाइँकी छोरी स्कूल गएकी छैन। कोठामा पनि छैन। कहाँ गई पत्तो छैन’, उनले धर्मराजको भनाइ उदृत गर्दै नागरिकन्युजसँग भने, ‘त्यो २००९ अगस्टको ३१ को दिन थियो।’

२००८ अगष्ट २७ तारिखमा सविना स्कुलमा देखिइनन्। स्कुलका स्टाफले फोन गर्दा उनले आफ्नो साईकल पन्चर भएको हुनाले आफू स्कुल आउन ढिलो हुने जवाफ दिइन्। त्यसपछि उनलाई देखेँ, भेटेँ र कुराकानी गर्ने अरु कोही छैनन्।
हुन पनि दुई तीन दिन फोनमा कुरा नगरे बुवाअामालाई किन मायामार्नु भएको भन्दै ममता देखाउने सविना एकाएक बेपत्ता हुँदा महर्जन परिवार भावविह्वल बन्यो। ‘२६ अगस्ट २००९ देखि कान्छीको आवाज सुन्न पाएको छैन। पढ्न जान्छु भनेर जापान गएकी छोरीको अवस्था के छ हामीलाई थाहा छैन’, शुक्रबार साँझ सानुलालले नागरिकन्युजसँग भने।

दिदीलाई समेत जापान ल्याउनुपर्छ भनिरहेका बेला सविना एकाएक बेपत्ता भएकी थिइन्। छोरी बेपत्ताको खबर सुनेपछि सानुलाललाई खाना रुच्न छोड्यो। निद्रा हरायो। उनी बिरामी जस्तै भए। प्रहरीको इन्टरपोल र परराष्ट्र मन्त्रालयमा छोरी खोजवीनका लागि उजुरी गरे। ‘दुई तीन वर्षसम्म त मलाई साह्रै गाह्रो भये। परिवारलाई सहयोग गर्छु दिदीलाई पनि उतै लान्छु भन्थी’, उनले सम्झिए, ‘खोइ कान्छीको स्थिति के छ म कसरी भनुँ’, भावुक भए।

कसरी बेपत्ता भइन् सविना?

बेपत्ता हुनु अघिसम्म सबिना जापानको फुकोओकामा बस्ने गरेकी थिइन्। त्यहाँ उनी एशिया जापानिज एकेडेमीमा जापानी भाषा पढ्दै थिइन्। २००९ अगष्ट २७ तारिखमा सविना स्कुलमा देखिइनन्। स्कुलका स्टाफले फोन गर्दा उनले आफ्नो साईकल पन्चर भएको हुनाले आफू स्कुल आउन ढिलो हुने जवाफ दिइन्। त्यसपछि उनलाई देखेँ, भेटेँ र कुराकानी गरेँ भन्ने कोही छैन।

अगष्ट ३१ सम्म कतै नदेखिएपछि सविनाका साथी उनी बस्ने कोठामा पुगेका थिए। त्यहाँ कोठा खुलै थियो। त्यसपछि जापान प्रहरीमा उजुरी पर्‍यो। प्रहरीले सविनाको कोठा तलासी लियो। प्रहरीले अनुसन्धान गर्दा उनको कोठामा बेड, टेबलबाहेक अरु सबै सामान गायब भएको स्थिति थियो। सविनाले चढ्ने गरेको साइकल पनि त्यहाँ थिएनँ।

फुकुओका स्थित एशिया जापानिज भाषा स्कूलमा अध्ययनरत सविना सन् २००९ को अगस्ट ३१ देखि परिवार र साथिभाइको सम्पर्कबाट एकाएक हराएकी थिइन्। उनी सम्पर्कबिहीन भएलगत्तै नेपाली दुताबास जापान, एनआरएन जापान, जापान प्रहरी र इन्टरपोल सबै समक्ष सानुलालले छोरी हराएको उजुरी गरे। जापानस्थित नेपाली राजनीतिक दल र समुदायका केहीले पहल गरे पनि सरकारी तहबाट घटनाको अनुसन्धानमा तदारुकता देखाउने काम भएन।

कहीँ कतैबाट सहयोग नपाएपछि सानुलाल छोरीको खोजीमा सन् २०१३ मा आफैँ जापान आए। दूतावास, जापान प्रहरी, नेपाली समुदायसँग सहयोगको लागि याचना गरे तर जापानी भाषा नजानेका उनलाई स्थानीय स्तरमा डिल गर्न सहज भएन। कतैबाट पनि छोरीको स्थिति खुल्न नसकेपछि उनी निरास भएर काठमाडौं फर्किए।

‘खोइ बाबु कसलाई के भनूँ। ८ वर्षदेखि छोरीको सास पनि छैन, लाश पनि छैन’, उनले भने।
‘टोकियोको नेपाली दूतावास पनि धेरै पटक धाएँ। हुन्छ हुन्छ भन्नेहरु त धेरै थिए। तर कतैबाट पनि छोरीको स्थिति खुल्न सकेन’, नागरिकन्युजसँग उनले भने, ‘खोई हाम्रो देश सानो भएर हो कि। हाम्रो राजदूतज्यूहरुको कुरा नटेरेका पो हुन् कि! उहाँहरुले गर्छु गर्छु भन्नुहुन्थ्यो अहिलेसम्म केही परिणाम छैन।’ सन् २०१३ मा टोकियोस्थित नेपाली दूतावासमा छोरीको खोजीका लागि निवेदन दिएको उनले सुनाए।

सविनाले जापान ल्याउने भनिएकी दिदी बिना यतिबेला अष्ट्रेलिया पुगेकी छिन्। आफ्नी बहिनी ८ वर्षदेखि जापानमा बेपत्ता भएकोमा भावविह्वल हुँदै उनले सहयोगको याचना गरिन्। ‘मेरी बहिनी हराएको ८ वर्ष भयो। कहाँ छे, कस्तो छे केही थाहा छैन’, अष्ट्रेलियाबाट नागरिकन्युजसँग कुराकानी गर्दै उनले भनिन्, ‘म जापानमा रहेका नेपालीहरुसँग यो घटनाको सत्यतथ्य खोजीका लागि आग्रह गर्दछु। तपाइँहरुको सहयोग भए उसको अवस्था अवश्य पत्ता लाग्नेछ।’ नागरिक दैनिकले छापेको छ ।

दूतावासको भूमिका ‘प्रोएक्टिभ’ हुनुपर्छ

टोकियोका एक जना कानुन व्यवसायी अधिवक्ता बलराम श्रेष्ठ नागरिक हराएको विषयमा दूतावास प्रोएक्टिभ हुनुपर्ने बताउँछन्। ‘सबैभन्दा पहिला विदेशमा बस्ने आफ्नो नागरिक खोज्ने दायित्व राज्यको हो। विदेशमा राज्यको उपस्थिति भनेको दूतावास नै हो’, उनी भन्छन्, ‘सबिना महर्जनको खोजीमा पहिलो दायित्वबाट दूतावास पन्छिए अन्य बाटाहरु छन्।’ दूतावाससँगै जापानका सामाजिक संघसंस्थाहरुको साथ भए सविनाको खोजीवन हुनसक्ने उनी बताउँछन्। नेपाली दूतावासले काम नगरे रेडक्रसदेखि अन्तरार्ष्ट्रिय मानब अधिकारसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने उनको भनाइ छ। (काठमाडौंबाट कृष्ण ढुंगाना र टोकियोबाट नारायण रिमालको रिपोर्ट)

तपाईको प्रतिक्रिया