नेपालगन्ज २७ भदौ । चाडपर्बको आगमन संगै यात्रुहरु लुटिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार जमुनाहामा यात्रु सहायता कक्षको स्थापना गरेको छ । दसैँ, तिहारको अवसरमा यात्रुहरुलाई हुने विभिन्न समस्याहरुलाई ख्याल गर्दै जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्षको स्थापना गरेको हो । सो सहायता कक्ष बाँकेको प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन । यात्रु सहायता कक्षको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी केसीले चाडबाड मनाउन आउने नेपालीहरु लुटिने ठगिने घटनालाई कम गर्नका लागी सिमा क्षेत्रमा यात्रु सहायाता कक्षको स्थापना गरेको जानकारी गराए । केसीले चाडबाडलाई मध्यनजर गर्दै नेपालगन्जका बिभिन्न स्थान संगै नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा पनि यात्रु सहायाता कक्षको स्थापना गरिने बताए । सोही अवसरमा बोल्दै भारत रुपैडिया पुलिस थानाका प्रमुख सुवास जैनले भारतिय प्रहरीका तर्फबाट आफु जस्तो सुकै सहयोग गर्न तैयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष गोपाल प्रसाद अधिकारीले यसरी सञ्चालनमा ल्याईएको नागरिक सहायता कक्षले भारतमा मजदुरी गरेर आएका नेपाली मजदुरहरु लुटिनबाट जोगिने उल्लेख गरे । सहायता कक्ष सञ्चालनमा आएपछि चाडपर्वको बेला हुने विभिन्न समस्याहरु एवं यात्रुहरुले सवारीसाधनबाट दैनिकरुपमा भोग्दै आएका समस्या कम हुने विश्वास लिईएको छ । प्रहरीले मगलबार देखी नै सन्देशमुलक सामाग्रीको प्रकासन तथा प्रसारण पनि शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया