खगेन्द्र दाहाल, नेपालगन्ज २६ भदौ । संयुक्त बजार अनुगमन समिति बाँकेको टोलीले कर्णालीतिर लैजान तयारी गरीएको बोइलर कुखुराको मासुलाई जफत गरेको छ । अनुगमनको क्रममा नेपालगन्ज उपमहानगरपालिका–२० राझामा अदनसिंह थापाले सन्चालन गरेको फ्रेस हाउसलाई समेत सिल गरीएको छ । फ्रेस हाउस दर्ता विना नै सन्चालन गरेको पाइएपछि सोमबार अनुगमन गरेर पसललाई सिल गरिएको अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

थापाले सन्चालन गरेको फ्रेस हाउसबाट कर्णाली अन्चल प्रदेश नम्बर ७ मा सप्लाई हुने गरेको थियो । उक्त फ्रेस हाउसले हुम्लामा अनुमती लिएर नेपालगन्जमा कारोबार गरेको पाइएपछि नेपालगन्जमा अनुमति नलिदा सम्म पसल सिल गरिने अनुगमन समितिका संयोजक लामिछानेले बताए । कर्णाली अन्चलका जिल्लाहरुमा सप्लाई गर्न तयारी राखेको अन्य दुई पसलबाट पनि गुणस्तरहिन मासु बरामत गरिएको छ ।

राझामै रहेको शान्ती जनरल स्टोरबाट मुगुमा पठाउन तैयारी रहेको अवस्थामा ५ केजी बराबरको बोइलर कुखुराको गुणस्तरहिन मासु जफत गरिएको छ । जनरल स्टोरका सन्चालकलाई पसल सुधार गरेर मासुको लागि छुट्टै दर्ता गर्न निर्देशन दिइएको छ । नेपालगन्ज २० मा मनप्रसाद पाठकले सन्चालन गरेको न्यु भेरी मिट सप्लाइर्सबाट खान नमिल्ने अयोग्य ३ केजी कुखुराको मासु जफत गरिएको अनुगमन छ । त्यसैगरी सिद्धबाबा पोल्ट्री एण्ड फिड सप्लायर्सबाट पनि साढे ५ केजी बोइलर कुखुराको गनाउने मासु जफत गरिएको छ ।

उक्त पसललाई समेत ७ दिन भित्र पसल सुधार गरेर बाणिज्य कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । परिक्षणका लागि २ सय ५० ग्राम बोइलर कुखुराको मासु काठमान्डौं पठाइएको टोलीले लिएको जनाएको छ । फ्रेस हाउसमा गुणस्तरहीन मासु भेटिएपछि अनुगमन टोलिले छड्के चेकजाँचको क्रमलाई निरन्तरता दिने जनाएको छ । अनुगमन टोलिले राझामा रहेको प्रविन कोल्ड स्टोर, आर पि मिठाई पसलमा समेत अनुगमन गरेको थियो । मिठाई पसलमा गुणस्तरहिन कालाजामुन फेला परेपछि नष्ट गरीएको छ । पसलमा फोहोर धेरै भेटिएकाले सफा राखेर व्यवसाय सन्चालन गर्न समेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । अनुगमनमा नेपालगन्ज उप महानगरपालिका, वाणिज्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया