काठमाडौं – कमेडियन कपिल शर्माको टेलिभिजन सो अहिले बन्द छ । उनको स्वास्थ्यको कारण देखाउँदै सोनी च्यानलले केही समयसम्मका लागि पुरानै कार्यक्रम दोहोर्‍याउने जानकारी गराइसकेको छ ।

पूर्वसहकर्मी सुनील ग्रोबरसँगको झगडापछि विवादमा तानिएका कपिलको स्वास्थ्य ठीक नभएको कुरा सत्य हो । अहिले उनी स्वास्थ्योपचार गराइरहेका छन् । यसै क्रममा उनले एउटा खुलासा पनि गरेका छन् । हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले सुनीलसँगको झगडाका विषयमा केही नयाँ कुरा भनेका छन् ।

‘हामीबीचको झगडालाई निकै बढाई–चढाई प्रस्तुत गरियो । विमानमा खाना नपाएपछि सुनीलमाथि जुत्ता प्रहार गरेर रिस पोखेको कुरा कसैले लेखेछ । यो कुराले मेरो मन दुखायो । तपाईंलाई लाग्छ कि म साँच्चै यस्तो गर्न सक्छु ?’ नयाँ पत्रिकाले छापेको छ ।

सुनीलसँगको त्यो काण्डपछि आफूले रक्सी पिउन थालेको र त्यसैले स्वास्थ्य बिगारेको पनि उनले खुलाएका छन् । ‘हो मैले रक्सीलाई साथी बनाएँ र मेरो स्वास्थ्य खराब हुन थाल्यो । कार्यक्रमको टिआरपी घटेपछि मैले झन् रक्सी पिउन सुरु गरेँ,’ कपिलले भनेका छन् ।

सुनीलसँगको घटनापछि तत्काल स्पष्टीकरण नदिनु पनि आफ्नो गल्ती भएको उनले स्विकारेका छन् । त्यतिवेलै स्पष्टीकरण दिन सकेको भए मानिसमा भ्रम नहुने थियो भनेका छन् । मिडियाले आफ्नो मौनताको फाइदा उठाएको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया