श्रीमान् मेयरमा, श्रीमती उपमेयरमा भिड्दै
काठमाडौं । वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसँगको होडबाजीमा भुजा–पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएका छन् । मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रीमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् । उनीहरुलाई नेकपा संयक्तले उम्मेदवार बनाएको हो ।

रानीघाटस्थित सिर्सिया पुलनजिक भुजा–पकौडी पसल चलाउँदै आएका ३२ वर्षीय मुन्ना र २७ वर्षीया बबिता दम्पत्ति मेयर र उपमेयरको उम्मेदवार बनेपछि छिमेकी आश्चर्यमा परेका छन् । देश–विदेशमा चर्चित वीरगन्ज सहरको कन्तविजोग देखेर दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको मुन्ना बताउँछन् । आफूले उम्मेदवारी दिने सोच बनाएपछि बबिता पनि उपमेयर उम्मेदवार बन्न तयार भएको उनको भनाइ छ ।

‘हुन त मेयरमा पदमा सबै ठूला दलका उम्मेदवार पैसावाल छन्, दुईचार करोड खर्च पनि गरिरहेका छन्,’ उनी भन्छन्, ‘तर, धनीले मात्र निर्वाचन लड्न पाउनुपर्छ भन्ने कानुनमा कहीँ पनि लेखेको छैन । हामी गरिबलाई पनि निर्वाचन लड्न पाउनुपर्ने अधिकार कानुनले दिएको छ ।’ त्यसैले गरिब भए पनि पति–पत्नी नै उम्मेदवार बनेको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया