काठमाडौं दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा अधिक उम्मेदवार जिताएर पार्टीको स्थिति मजबुत बनाउन मुख्य दलका शीर्ष नेता मधेस जाने भएका छन् । चुनावी परिणाममा एक नम्बर हुने दाबी गर्दै सबै दलका शीर्ष नेता प्रचारप्रसारका लागि मधेस जान लागेका हुन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल राजपा नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरू विजय लक्ष्य लिएर चुनाव हुने प्रदेशमै पुगी रणनीतिसहित अभियान सञ्चालन गर्न लागेका छन् । प्रदेशमा हुने स्थानीय तह चुनावमा एक नम्बर पार्टी बन्न नसके पनि कुनै पनि हालतमा दुई नम्बरभन्दा तल नझर्ने उद्देश्यले ती दलले चुनावी अभियान अघि बढाइरहेका छन् ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कम्तीमा तेस्रो नम्बरमा आउने सोचाइले चुनावी अभियानलाई तीव्रता दिएको छ । पार्टी उपाध्यक्ष गीता रानाले दुई नम्बर प्रदेशमा फोरम लोकतान्त्रिक दोस्रो पार्टी हुने र त्यो नभए तेस्रो भएरै छाड्ने दाबी गरिन् । आजको नागरिकमा खबर छ ।

दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये कम्तीमा सय तहमा विजयी हुने पार्टीको रणनीति रहेको कांग्रेसका नेताहरूले बताए । पहिलो र दोस्रो चरणका चुनावमा पराजय भएको क्षतिपूर्ति दुई नम्बर प्रदेशबाटै गर्ने कांग्रेस नेताको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले दुई नम्बर प्रदेशमा कम्तीमा सय सिट ल्याउने रणनीतिका साथ चुनावी प्रचार तीव्र बनाएको बताए । काग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित पार्टीका सबै शीर्ष नेता दुई नम्बर प्रदेशका आठवटै जिल्लामा पुग्ने उनले बताए । उनका अनुसार केही शीर्ष नेता मधेसमै रहेका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधि शनिबार जनकपुर गएका छन् । उनी चुनावभर जनकपुरमै रहनेछन् । नागरिकसँगको फोन सम्पर्कमा उनले भने, ‘दुई नम्बर प्रदेशमा कांग्रेस सय सीट ल्याएर पहिलो पार्टी बन्नेछ ।’

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पहिलो पार्टी भएपछि हौसिएको एमाले तेस्रो चरणको चुनावमा पनि अघिल्लो परिणामलाई निरन्तरता दिने ध्याउन्नमा छ । एमाले नेता माधव नेपाल केही दिनअघि मधेसबाट काठमाडौं आएका छन् । उनी फेरि मधेस जाने तयारी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरू दुई नम्बर प्रदेशका सबै जिल्लामा पुग्ने तयारी भएको एमाले नेताहरूले जनाए । केही दिनअघि नै महासचिव ईश्वर पोखरेलको नेतृत्वमा मधेसमा सचिवालय गठन गरिएको छ । पोखरेल दुई नम्बर प्रदेशमै व्यस्त छन् । एमाले नेता शत्रुघन महतोले दुई नम्बर प्रदेशमा एमाले पहिलो पार्टी हुने दाबी गरे । ‘चुनावी लहर हाम्रो पक्षमा छ । हामी पहिलो पार्टी हुन्छौं,’ उनले भने । महतोले भदौको अन्तिम साता पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मधेसका विभिन्न ठाउँमा पुग्ने कार्यक्रम तय भएको बताए ।

राजपाका केही स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेपछि मधेसमा एमाले उत्साहित भएको एमाले नेताको भनाइ छ । माओवादी केन्द्रका नेता मातृका यादव, रामचन्द्र झा, रामेश्वर यादव, रामकुमार शर्मालगायत अहिले मधेसमा माओवादीलाई पहिलो पार्टी बनाउने रणनीति बनाउँदै चुनावमा होमिएका छन् । माओवादीका सबै शीर्ष नेता दुई नम्बर प्रदेशका सबै तहमा पुग्ने नीति पार्टीले बनाएको छ । पार्टीका शीर्ष नेताको सहभागितामा माओवादीले दुई नम्बर प्रदेशका आठवटै जिल्लामा कोणसभा गर्ने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले जनाएका छन् ।

मधेस केन्द्रित दल राजपा, फोरम नेपाल र फोरम लोकतान्त्रिका प्रायः सबै शीर्ष नेता मधेसमा पुग्ने भएका छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबाहेक सबै पाँचजना सदस्य शनिबार मधेस गएका छन् । एकदुई दिनपछि मधेसका विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न ठाकुर पनि जानेछन् । राजपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसमा पार्टीले चुनावी तयारी तीव्र बनाएको बताएका थिए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामसहाय यादवलगायत शीर्ष नेता अहिले मधेसमै छन् । मधेसमा फोरम नेपाल पहिलो पार्टी हुने रणनीति बनाउँदै सो पार्टीले चुनावी अभियान सुरू गरेको छ ।

तपाईको प्रतिक्रिया