काठमाडाैं | मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही गर्ने नेपाल प्रहरीको अभियानले ६ वर्ष पार गरेको छ । ६ वर्षको अवधिमा अभियानले सफलता पाएको ट्राफिक प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन नियन्त्रण अभियानमा कडाइ गरेपछि मादक पदार्थको सेवन गरेर सवारी चलाउनेको संख्या घटेको हो ।

बितेको एक वर्षमा मादक पदार्थ सेवन गरेका २८ हजार ५ सय ६ जना कारबाहीमा परेको तथ्यांक प्रहरीसँग छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा करिब २४ हजारको हाराहारीमा कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो पाँच वर्षमा मादक पदार्थ सेवन गर्ने उपत्यकामा मात्र १ लाख ७० हजार ६ सय १३ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले ट्राफिक प्रहरीले वेलावेलामा गर्ने गरेको छड्के चेकजाँचको नतिजा हो यो,’ डिआइजी खनालले भने, ‘तर, यो संख्या पूर्ण नभई चेकजाँचको क्रममा फेला परेको संख्या मात्रै हो ।’

०६९/७० मा ३७ हजार ५ सय ६ जना, ०७०/७१ मा ५० हजार ६ सय ५३ जना, ०७१/७२ मा ३६ हजार २ सय ६९ जना, ०७२/७३ मा २८ हजार ५ सय १ जना र ०७३/७४ को असारसम्म करिब २० हजारजना मादक पदार्थ सेवन गरी कारबाहीमा परेका छन् ।

२३ लाख कारबाहीमा
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चेकजाँचमा तीव्रता दिएपछि संख्यात्मक रूपमा मादक पदार्थ सेवनकर्ता कारबाहीमा परेका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाट ६ वर्षको अवधिमा लगभग २३ लाख ६० हजारजना कारबाहीमा परेको डिआइजी खनालले बताए । कारबाहीमा परेकाहरूबाट जनही एक हजारको दरले जरिवाना असुल गरिएको महाशाखाले जनाएको छ ।

साढे २३ करोड जरिवाना असुली

महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट ६ वर्षको अवधिमा ठूलो राशिमा जरिवाना असुली गरेको छ । मादक पदार्थ सेवनकर्ताबाट अभियान सञ्चालन गरेको अवधिभित्रमा उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ । ६ वर्षको अवधिमा कारबाहीबाट २३ करोड ९० लाखको हाराहारीमा जरिवाना असुली भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अभियान सञ्चालन गरेको ०६८ सालदेखि ०७४ सम्ममा उपत्यकाका तीन जिल्लाबाट मादक पदार्थ सेवन गरी कारबाहीमा पर्नेबाट राजस्व संकलन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी खनालले बताए । नया पत्रिकामा समाचार छ ।

तपाईको प्रतिक्रिया