खजुरा (बाँके), २४ भदौ । बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ ।

जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन् । तर गौशालाको उचित व्यवस्थापन र स्तरोन्नतीका लागि सरकारले बेवास्ता गर्दा संकटमा पर्दै गएको गौशालाका प्रमुख व्यवस्थापक शेरबहादुर ऐरीले बताउनुभयो ।

उहाँकाअनुसार दान, दक्षिणा, भेटी र स्थानीयवासीको सहयोगले गौशाला सञ्चालन भइरहेको छ । गौशाला र गुरुकुलको आफ्नो जमिन छैन । जमिनको व्यवस्थापन हुन नसकेकै कारण पशुपति सामुदायिक वनको जमिनमा बस्दै आएको उहाँले बताउनुभयो ।

२०६५ सालमा यज्ञशालाको नामबाट स्थापना भएको गौशाला र गुरुकूललाई आफ्नो जमिन नहुँदा गाईपालन र गुरुकूल सञ्चालनमा समस्या आउने गरेको छ ।

सामुदायिक वनले गूरुकुल संचालन गर्न नदिएपछि सामुदायिक भवनमा कक्षा सञ्चालन गरेको गुरुकुलका स्वयंमसेवक ओमकार स्वदेशीले बताउनुभयो । ‘गुरुकुलका लागि भवन बनाएर पठनपाठन गर्ने क्रममा सामुदायिक वनले संचालन गर्न दिएन,’ उहाँले भन्नुभयो ।

तीन कक्षासम्म सञ्चालनमा रहेको गुरुकुलमा ६२ जना बिद्यार्थी अध्ययनरत् छन् । भवन र शिक्षक अभावका कारण थप कक्षा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

सामुदायिक वनले उपभोगका लागि मौखिक रुपमा जमिन उपलब्ध गराएकाले कहिले हटाउने हो भन्ने कुराको ठेगान नभएको शिवगायत्री विद्या विस्तार गौशाला गुरुकुल आश्रम गौशालाकी लक्ष्मीकुमारी वाग्लेले बताउनुभयो ।

उहाँकाअनुसार सामुदायिक वनले उपभोग गर्न दिए पनि पटक÷पटक दुःख दिने गरेको छ, “अर्काले दयाले दिएको जमिन हो, दया रहँदासम्म बस्न देलान, त्यसपछि के हुन्छ थाहा छैन,’ वाग्लेले भन्नुभयो ।”

जमिन नभएकै कारण गाईका लागि घाँस रोप्न नसकेको र घाँस नभएकै कारण गाईलाई जंगलमा छोर्नुपरेको गायत्री परिवारका राष्ट्रिय संयोजक रमेशचन्द्र पौडेलले बताउनुभयो । उहाँकाअनुसार गाईलाई राम्रोसँग घाँस खुवाउन नपाउँदा गाईको वृद्धि विकास हुन नपाएको हो ।

गाईलाई सामुदायिक वनमा चराउन छोर्दा वनका पदाधिकारीले विरोध गर्ने गरेको उहाँले बताउनुभयो । ‘वनमा चर्न जान नदिउँ भने घाँस छैन, घाँस रोपौँ भने जमिन छैन,’ उहाँले भन्नुभयो । घाँस रोप्ने जमिन नहुँदा गाईलाई बिहान ७ बजे नै जंगलमा पठाउने गरिएको छ ।

गौशालाले गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल बनाउने गरेको छ । प्राङ्गारिक मल स्थानीयले लैजाने गरेका छन् । गौमुत्रबाट बनाएका गौजला औषधिबाट मासिक रु सात हजारदेखि १० हजार आम्दानी हुने गरेको मुख्य व्यवस्थापक ऐरीले बताउनुभयो ।

गौजला बिक्री नै गौशाला र गुरुकुलको मुख्य आयस्रोत हो । गौशालाले उत्पादन गरेको गौजला औषधि प्रतिलिटर रु ३०० मा बिक्री हुँदै आएको छ । सो औषधि लिन नेपालगन्ज, कोहलपुर, भारतको रुपइडिहा र बर्दियाको गुलरियासम्मका सर्वसाधारण यहाँ आउने गर्छन् ।

गौजलाबाट १०८ थरिका रोग निको हुने जनाएको छ । गौमुत्र संकलनका लागि साधन र प्रशोधनका लागि उपकरण नभएका कारण सोचेजस्तो आम्दानी गर्न नसकेको मुख्य व्यवस्थापक ऐरीले बताउनुभयो । गौमुत्र प्रशोधनका लागि गौशालासँग पुरानो पद्दतीका उपकरण बाहेक केहि छैन । ‘आधुनिक उपकरण भएको भए झनै राम्रो हुने थियो,’ उहाँले भन्नुभयो ।

दाउराको आगो बालेर गौमुत्रको बाफबाट गौजला औषधि बनाइन्छ । उहाँले राम्रो उपकरणको व्यवस्था भए धेरै औषधि उत्पादन गर्न सकिन्छ भन्नुभयो ।

‘स्थापनाकालमा खरिद गरेको पुरानो पद्दति र सानो भाँडा भएकोले मागअनुसारको औषधि उत्पादन गर्न सकिएको छैन,’ मुख्य व्यवस्थापक ऐरीले भन्नुभयो– “नयाँ उपकरण खरिदका लागि रु ७५ हजार लाग्ने देखिन्छ तर गौशालासंग त्यती रकम छैन् ।” र

तपाईको प्रतिक्रिया