काठमाडौं ।

सेलेब्रिटीको प्रश्न सेलेब्रिटीकै उत्तर, कलाकार दीपकराज गिरीलाई अनेरास्ववियु अध्यक्ष नवीना लामाको प्रश्न

नवीना: व्यक्तिगत रूपमा म तपाईंंको फ्यान हुँ । तपाईंंमा यसरी कलाकारिताका क्षमता कसरी विकास भयो ? दीपक: म सानैदेखि चलचित्रको फ्यान थिएँ । हामी हिन्दी चलचित्रका फ्यान थियौँ । र, हिरो भनेको विशेष मान्छे हो, जे पनि गर्न सक्छ भन्ने भावना विकास भएको थियो । हिरोको छाप त्यसरी मानसिकतामा बसेपछि आफू पनि त्यसतिर तानिएँ । म पनि हिरो बन्न सक्छु भन्ने भावना आउन थाल्यो । त्यसपछि नाटक बनाउन, खेल्न थालेँ । संघर्ष गर्दै गएँ । त्यसपछि यसैमा रमाउन थालेँ ।

नवीना: तपाईंं कलाकारहरूलाई राष्ट्रलाई राष्ट्रको गहनाको रुपमा लिइन्छ । तपाईंले चाहिँ कलाकारिता मात्र नभएर समाजसेवा गर्ने सोच बनाउनुभएको छ कि छैन ? दीपक: पक्कै पनि हामी सामाजिक प्राणी हौँ । यही माटोमा मरेर खाली हात जाने हो । म अलिकति अध्यात्ममा पनि विश्वास गर्छु । तर, अहिले म करिअरको पिक आवरमा छु । अहिले कलाकारितामै योगदान गर्नु छ । त्यसपछिको समय सामाजिक काम र राजनीतिमा संलग्नता जनाउने छु । तर, अहिले पनि मेरो कमाइको केही प्रतिशत पैसा सहयोग गरिरहेको छु ।

नवीना: तपाईं त्यो स्थानमा पुगिसकेपछि तपाईंका बुवाआमाबारे पनि जनताले जान्न चाहन्छन् । तर, तपाईंको बुवाआमाबारे त्यति सुन्न पाइँदैन नि ! दीपक: मेरो बुवाआमाबारे मैले नभनेर धेरै कुरा भनेको छु । मैले आमाकै टीका लगाएर कला क्षेत्रमा आएको थिएँ । आमाकै कारण यहाँसम्म छु । मेरी आमाको नामबाटै प्रोडक्सन कम्पनीको नाम राखेको छु । पिताजीचाहिँ अहिले रिटायर्ड भएर बस्नुभएको छ । उहाँ कृषि विकास बैंकको कर्मचारी हुनुहुन्थ्यो ।

नवीना: कुनै मान्छे सफल हुनका लागि श्रीमतीको ठूलो भूमिका रहन्छ । तर, तपाईं श्रीमतीसँग त्यति देखिनुहुन्न, र उहाँको बारेमा सुन्न पनि पाइँदैन किन होला ? दीपक: पाइन्छ, किन नपाइनु । मैले श्रीमतीजीसँगको तस्बिर फेसबुकमा पनि हालिरहेको हुन्छु । मलाई कला क्षेत्रमा अगाडि बढ्न उहाँको साँच्चिकै ठूलो भूमिका छ । श्रीमतीको सहयोग नभएको भए यहाँसम्म आउन सक्ने थिइनँ । उहाँ घरमा बसेर पृथ्वी नै थामिदिनुभएको छ । श्रीमतीलाई मैले माया त गर्छु नै त्योभन्दा बढी आदर र श्रद्धा गर्छु । नवीना: अहिले कलाकारितामा बढी व्यवसायीकरण भएजस्तो लाग्छ । संस्कृतिसँग जोडेर फिल्म र विभिन्न सामग्री सिर्जना गर्न सकिँदैन ? दीपक ः हजुरको प्रश्न जायज छ । अरूको विषयमा भन्दा पनि मैले आफ्नो कुरा गर्छु । हामीले कमर्सियल फिल्ममा पनि सुर्के थैलीजस्तो थुम्का जोडेर गीत राख्यौँ । सुर्के थैली खै, पूर्वपश्चिम रेल, सुन त चम्पाजस्ता लोकलयमा आधारित गीत राखेर संस्कृति संरक्षणमा टेवा पु¥याएजस्तो लाग्छ । अहिले झ्याम्म झ्याम्म गीत राखेर लोकगीतलाई हामीपछिको पुस्तालाई हस्तान्तरण गर्दै छौँ ।

नवीना: फिल्म उद्योगलाई अगाडि बढाउनका लागि राजनीतिक सहाराको पनि जरुरत पर्छ । कलाकार र राजनीतिक दलहरूसँगको सहकार्यमा यहाँको भूमिका के हुन सक्छ ? दीपक: वास्तवमा राजनीति भनेको पूरै शरीरको मुटु हो । कुनै पनि देशको राजनीति राम्रो छ भने सबै कुरा राम्रो हुन्छ । हाम्रो देशको राजनीति अहिले बिग्रिएको छ, त्यसको प्रभाव कलाकारितामा पनि परेको छ । हामी राजनीतिका लागि अकुपन्चर र अकुप्रेसरको काम गर्ने हो । तर, अप्रेसन गर्ने होइन । यसप्रकारको काम मैले तितो–सत्यबाटै गरेको थिएँ ।

नवीना: तपाईं वेलावेलामा विवादमा आइरहनुहुन्छ, त्यसलाई सुधार्न सकिँदैन ? दीपक: चर्चित भएपछि गाली र ताली दुवै हुँदो रहेछ । यी दुवै नै एक सिक्काका दुई पाटा हुन् । सेतो कपडामा सानो दाग पनि ठूलो देखिन्छ । हामी सेता कपडाजस्ता भयौँ । यसले मलाई त्यति धेरै फरक पार्दैन । यदि फरक पर्न थाल्यो भने त्यसको असर मेरो सिर्जनामा पर्दछ । क नयाँ पत्रिकाले छापेको छ ।

नवीना: अहिले तपाईंमाथि गीत चोरीको आरोप लागेको छ, वास्तविकता के हो ? दीपक: सान्दर्भिक प्रश्न गर्नुभयो । लोकसंस्कृति कुनै एकजनाको पेवा हुँदैन । सबैको साझा सम्पत्ति हो । त्यसलाई प्रयोग गर्दै लानुपर्दछ । झ्याम्म झ्याम्म पनि अलग प्रस्तुतिका साथ हामीले पुनप्र्रयोग गरेर नयाँ पुस्तामा हस्तान्तरण गरेका हौँ । यो त पुण्यको काम हो जस्तो लाग्छ । यसलाई हामीले यही माटोमा सारेका छौँ । अमेरिका लगेर बेचेका त छैनौँ नि ? जुन नाइलनको साडीमा भन्ने गीतको प्रसंग छ । त्यसमा संकलकको नाम छुटाएका थियौँ । त्यो सच्याइसकेका छौँ । अर्को कुरा गीत प्रोड्युसरले चोर्दैन, संगीतकारले चोर्ने हो । यसमा ‘काम गर्ने कालु, चोट पाउने भालु’जस्तो भएको छ ।

तपाईको प्रतिक्रिया