काठमाडौं -अभिनेत्री कंगना रनावतले आफूलाई ऋतिक रोशनले बिहे गर्ने आश्वासन दिएर धोका दिएको खुलासा गरेकी छिन् । कंगनाले चर्चित टिभी सो ‘आपकी अदालत’मा रजत शर्मासँगको साक्षात्कारमा ऋतिक आफैँले आफ्नो इमेल एकाउन्टबाट इमेल पठाएको र मिडियामा ल्याएर आफ्नो बेइज्जत गरेको दाबी गरेकी छिन् ।

ऋतिक रोशन आपकी अदालतमा कंगनालाई विभिन्न आरोप लगाइएको थियो । आफूलाई लगाएका हरेक आरोपको उनले डटेर जवाफ दिइन् । उनले आफूलाई बच्चैदेखि परिवारले जिद्धी स्वभावकी भनेर आफ्नो इच्छाएको काम गर्नबाट रोक लगाउने गरेको, तर आफूले जीवनमा केही गर्छु भनेर हिमाञ्चलबाट दिल्ली गएर थिएटरमा काम गर्न थालेको स्मरण गरिन् । ‘हाम्रो परिवारमा रुढीवादी सोच हावी थियो,’ उनले भनिन्,

‘छोराका लागि छुट्टै र छोरीका लागि छुट्टै नियम थियो । छोरीलाई अर्काको घर जाने जात त हो नि भन्ने खालको व्यवहार गर्दथे । दाइका लागि घरमा छुट्टै कोठा थियो । तर मेरा लागि थिएन ।’

उनी १६ वर्षको उमेरमा घर छाडेर हिँडेकी थिइन् । दिल्ली आएर अरबिन्दर गौरसँग अभिनय सिक्दै गर्दा उनले कंगनालाई मुम्बई गएर फिल्ममा ट्राइ गर्‍यो भने पैसा पनि कमाइने, कलाकारिता पनि देखाउन पाइने सल्लाह दिए । उनकै गाइडअनुसार कंगना मुम्बई पुगेकी थिइन् ।

मुम्बईमा फिल्मका लागि संघर्ष गर्ने क्रममा उनको भेट अभिनेता आदित्य पञ्चोलीसँग भयो । आशा चन्दाको होस्टेलमा बस्ने गरेकी कंगनालाई आदित्यले निकै दुःख दिएछन् । आदित्यको कर्तुतका विरुद्ध उनी पुलिसकोमा पुगिन् । पुलिसले उनलाई न्याय दियो । त्यतिवेला आदित्यले आफूलाई विभिन्न डर देखाउँदै धम्क्याउने गरेको समेत कंगनाले बताइन् । ‘कसैले शारीरिक, मानसिक तथा अन्य कुनै तनाव दिइरहेको छ भने सहेर बस्नुहुँदैन,’ उनले भनिन्, ‘केका लागि डराउने रु आफूलाई परेको अन्यायका विरुद्ध लड्नुपर्छ । सबै मान्छेभित्र उत्तिकै हिम्मत हुन्छ । तर, कतिले डराएर चुपचाप सहन्छन् । तर, म डराउने केटी होइन । म अन्यायका विरुद्ध लड्छु ।’

कंगनाले ‘लाइफ इन अ मेट्रो’ सुटिङका वेला आदित्यले आफूलाई निकै दुःख दिएकाले सो फिल्मका निर्देशक अनुराग बासु र उनकी पत्नीले आफूलाई दुई हप्तासम्म अफिसमै लुकाएर राखेको समेत खुलासा गरिन् । ‘म रिक्सामा थिएँ । आदित्यले म चढेको रिक्सालाई आफ्नो गाडीले उडाइदियो । म त्यहाँबाट भागेँ । मैले मलाई परेको समस्याबारे अनुराग सरलाई भनेँ । उहाँले सहयोग गर्नुभयो,’ कंगनाले भनेकी छिन् ।

कंगनाको पहिलो हिट फिल्ममै पर्छ, ‘ग्यांगस्टर’ । त्यो फिल्ममा अभिनय गर्नका लागि उनले अडिसन दिएकी थिइन् । त्यतिवेला उनी टिनएजमै थिइन् । निर्देशक अनुरागले कम उमेरका कारण क्यारेक्टरमा फिट नहुने भएकाले सुरुमा कंगनालाई रिजेक्ट गरेका थिए ।

त्यो फिल्ममा चित्रांगदा सिंहलाई हिरोइन लिइएको थियो । पछि चित्रांगदाको मोबाइल अफ भएकाले अन्तिम समयमा अनुरागले कंगनालाई फिल्ममा लिएका थिए । त्यतिवेलाको पल कंगनाले यसरी सम्झिएकी छिन्– म एउटा कफीको एडको अडिसन दिन मुम्बई आएकी थिएँ । त्यहाँ तीन–चारजना केटीहरू ग्यांगस्टरका लागि अडिसन दिन गएका थिए । म पनि उनीहरूसँगै गएँ । अनुराग सरलाई भेटेँ । त्यो फिल्ममा बच्चाकी आमाको भूमिका थियो । मेरो उमेर निकै कम भएकाले अनुरागले त्यो रोलका लागि सानी भयौ भन्नुभयो । मैले केही समय पर्खिन्छु नि भनेँ । केही सातापछि मैले अनुराग सरलाई फोन गरेँ । उहाँले यो फिल्ममा तिमी हुँदैनौ भन्नुभयो । मैले ठिकै छ, फर्किन्छु भनेँ ।

कंगना रनावत, अभिनेत्री उहाँहरूले त्यो रोलमा चित्रांगदा सिंहलाई लिनुभएछ । पछि, सुटिङ सुरु हुनुअघि चित्रांगदाको फोन अफ भएछ । उहाँहरूलाई सुटिङका लागि सियोल जानु थियो । एकाएक मलाई फोन आयो, तिमीसँग पासपोर्ट छ रु भनेर सोधियो । मसँग पासपोर्ट थिएन । अनुराग सरले एक हप्तामा पासपोर्ट बनाउन सक्छ्यौ भने तिमीलाई हिरोइन लिन्छु भन्नुभयो । मैले बुबालाई फोन गरेँ । चन्ढीगढ गएर हतारहतार पासपोर्ट बनाएर मुम्बई फर्किएँ । त्यसपछि मलाई ग्यांगस्टर फिल्म मिल्यो ।

कंगनाले ‘क्विन’ र ‘तनु वेड्स मनु–२’ हिट भएपछि आर्थिक रूपमा समेत आफ्नो जीवन बदलिएको बताएकी छिन् । क्विन हिट भएपछि ऋतिक रोशन आफ्नो पछि लागेको दाबी पनि उनको छ । उनले आफूले बलिउडमा स्थापित हुन निकै संघर्ष गरेको बताएकी छिन् । आफ्नो सफलताका कारण पूर्वप्रेमी ऋतिक तिल्मिलाएको उनी बताउँछिन् ।

ऋतिक र आफ्नो सम्बन्धको बारेमा उनले भनेकी छिन्– ऋतिक र मैले सात वर्ष सँगै काम गरेका छौँ । काम गर्ने क्रममा उनी मेरो पछि लागे । घरमा श्रीमती, बच्चा हुँदाहुँदै पनि उनी मलाई माया गर्छु भनेर पछि लागे । उनी श्रीमतीसँग आफ्नो राम्रो सम्बन्ध नभएको बताउने गर्दथे । विवाहित पुरुष, त्यसमा पनि १५ वर्ष उमेर अन्तर भएकाले म उनीसँग नजिक हुनै चाहँदैनथेँ ।

पछि, कसोकसो उनले मलाई कन्भिन्स गरे । श्रीमतीसँग डिभोर्स गरेपछि मसँग बिहे गर्ने आश्वासन दिए । उनको श्रीमतीसँग डिभोर्स भयो । तर, उनी अर्कै हिरोइनसँग अफेयरमा रहेको खबर अयो । भ्यालेन्टाइन्स डेको दिन मैले मलाई किन फोन नगरेको भनेर फोन गरेँ । तर, उनले मलाई किन फोन गर्ने रु भनेर अचम्मका कुरा गरे । त्यसपछि म उनीसँगको सम्बन्धमा रहिनँ । यो सन् २०१४ को कुरा हो । मैले उनीसँगको सम्बन्ध अन्त्य गरिसकेको थिएँ । तर, मेरो क्विन फिल्म हिट भएपछि उनी पुनः मेरो सम्पर्कमा आए । मेरो माया लाग्ने, मेरो याद आउने कुरा गरे । मैले मतलब गरिनँ ।

त्यसकारण उनले मलाई साइबर क्राइमको मुद्दा लगाएर जेल हाल्छु, बेइज्जत गर्छु भनेर लागे । मिडिया, वकिल सबैलाई किने । ऋतिक बाबुको पैसामा मातेको मान्छे हो । उनका बाबु राकेशले मेरो असलियत एक्सपोज गर्छु भनेको एक वर्ष भयो । खोइ त, म कुरिरहेको छु, मेरो के रहेछ उनीहरूले एक्सपोज गर्ने रु फिल्म लाइनमा मेरो यति धेरै नाम, इज्जत छ, तर उनीहरूले मेरो बदनाम गरिरहेका छन् । उनीहरूले गर्दा मलाई धेरै तनाव भयो । म रातभरि रोएर बस्थेँ । उनीहरूले मसँग माफी माग्नुपर्छ ।

ऋतिक र मैले ‘काइट्स’, ‘कृष–३’ फिल्ममा सँगै काम गरेका छौँ । क्विन हिट भएपछि ऋतिक आएर, मबाट गल्ती भयो, मलाई माफ गरिदेऊ भने । मैले उनलाई पहिला तिमी आफ्नो दिमाग बनाऊ, मसँग बिहे गर्छौ कि गर्दैनौँ रु भनेर सोधेँ। तर, उनले मेरो प्रश्नको सही जवाफ दिएनन् । मलाई बदनाम गर्न मेरो एकाउन्टबाट आफैँलाई एक हजार चार सय ३९ मेल पठाएछन् र प्रिन्ट गरेर फाइल गरेर वकिलकोमा पुगेछन् । त्यो एक वर्षअघिको कुरा हो । जबकि मैले त्यत्तिका मेल पठाएकी थिएँ भने उनले एकचोटि फोन गरेर तेरो काम छैन, कति मेल गरिरहेको भन्नचाहिँ किन सकेनन् रु यो सबै उनी र उनको बाबुको नियोजित षड्यन्त्र हो ।

उनी त पहिला फ्लप हिरोइनसँग प्रेम गर्थे । जब मेरो क्विन, तनु वेड्स मनु हिट भयो, मैले तीनचोटि राष्ट्रपतिको हातबाट नेसनल अवार्ड पाएँ, त्यसपछि मात्रै उनलाई मेरो याद आयो । फेरि माया लागेर आएछ, विचरा १ उनी यत्तिको स्वार्थी रहेछन् भन्ने कुरा यहीबाट अनुमान लगाउन सकिन्छ । उनको कुरा नमानेपछि मलाई, पागल केटी, दिगाग खुस्किएकीसमेत भने । कति मानसिक यातना दिए, म उनलाई कहिल्यै माफी दिने छैन ।

यदि म जड्याँहा हुँ, पागल छु, वक्तमिज हुँ भने उनले काइट्सपछि आफ्नो होम प्रोडक्सनको कृष–३ मा किन लिए रु जबकि मैले त्यो फिल्म गर्नै मानेकी थिइनँ । ६ महिनासम्म मेरो पछिपछि लागेर, बिहे गर्ने आश्वासन देखाएर फिल्म साइन गराइछाडेका थिए ।

मैले साँच्चै नै ऋतिकलाई धेरै माया गरेकी थिएँ । ऊसँग बिताएका पलहरू धेरै महत्वपूर्ण लाग्छन्, मलाई । मैले पठाएको तीन–चार वटा इमेललाई कपी गरेर उसले फाइलमा राखेको छ । त्यसमा मलाई दुःख लाग्छ । उसले मलाई बदनाम गर्‍यो । उसले दिएको पीडा मलाई मेरो पहिलो मृत्युझैँ लाग्यो । मैले ऋतिक र मेरो सम्बन्धबारे उसको बाबु राकेश रोशनलाई फोन गरेर भनेकी थिएँ । उनले ऋतिकसँग म कुरा गर्छु भनेका थिए । त्यहाँदेखि आजसम्म ऋतिकका बाबु–छोरा मेरो अघि परेका छैनन् ।

ऋतिकले मेरो निजी फोटो, भिडियो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने गरेका थिए । म न्याय खोज्न वुमन कमिसनमा पनि गएँ । तर, उनीहरूले राकेशजी हाम्रो साथी हो भनेर मेरो केस हेर्न मानेनन् । त्यहाँदेखि मलाई वुमन कमिसनप्रति घृणा छ । मलाई एक राइटरका जोडीले घरमा बोलाएर ऋतिकविरुद्ध नलाग भनेर धम्क्याए । एउटा सिनियर जर्नालिस्टले मेरी बहिनीलाई फोन गरेर मेरो ज्यानलाई खतरा छ भनेर डर देखाए । घरमा पुलिस आइरहन्थ्योे । मिडिया, वकिल सबैलाई उनीहरूले किनेका छन् ।

जतिवेला म ऋतिकलाई प्रेम गर्थें, त्यतिवेला डर लाग्थ्यो । तर, सन् २०१४ देखि ऊसँग मेरा कुनै सम्बन्ध छैन । त्यसैले मलाई कुनै डर लाग्दैन । ऋतिकको दिमाग ठीक छैन । उनीहरू मलाई बदनाम गर्न लागिपरेका छन् । तर, उनीहरू आफैँ बदनाम भइरहेका छन् । म त आफ्नो संघर्षले बनेकी केटी हुँ । ऋतिक बाबुको पैसामा मात्तिएको पुरुष हो । उसले दिएको पीडा म जीवनभर भुल्न र माफ गर्न सक्दिनँ। नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया