काठमाडौँ । बेनीनगरपालिका–१ रत्नेचौरमा सञ्चालित नेसनल प्रोग्रेसिभ एजुकेसन एकेडेमीमा भेटिने विद्यार्थी अमरबहादुर थापामगरको ‘प्रोफाइलले’ सबैलाई आश्चर्यमा पार्छ।

ढाका टोपीमा सजिएर उनी बिहान साढे ९ बजे विद्यालय आइपुग्छन्। अनुहार चाउरिएका र दाँत पनि झरिसकेका अमरबहादुर नर्सरीमा ५-६ वर्षका बालबच्चासँगै पढ्छन्, खेल्छन् र छुट्टी भएपछि उनीहरूसँगै लाइनमा घर फर्कन्छन्। १९९९ सालमा जन्मेका अमरबहादुरले १५ वर्ष भारतीय सेनामा काम गरे। जागिरे जीवनमा होस् या अवकाशपछि, दिनहुँ पढाइको महत्व खड्किएपछि उनी एक महिनाअघि विद्यालय भर्ना हुन आए।

विद्यालयका प्रिन्सिपल, शिक्षक तथा अभिभावकले सुरुमा ठट्टा सम्झे। भर्ना शुल्क र पुस्तक किन्ने पैसासहित झोला बोकेर नियमित विद्यालय आउन थालेपछि प्रिन्सिपल यामबहादुर थापाले उनलाई भर्ना गरिदिए।

उनी राम्रोसँग कान सुन्न सक्दैनन् तर एकपटक भनेको कुरा भुल्दैनन् र कपीमा नोट गरिहाल्छन्। ‘थुप्रै वर्ष भारतीय सेनामा काम गरेँ, विभिन्न ठाउँ घुमें, पढाइ नभएकाले ठूलो मान्छे बन्न सकिनँ’, अमरबहादुर भन्छन्, ‘केही कुरा सिक्नलाई मान्छे कहिल्यै बूढो हुँदैन।’ उनलाई नेपाली र गािणत एकदमै अप्ठ्यारो लाग्छ।

अंग्रेजी त्यति गाह्रो लाग्दैन। ‘नेपाली भएर नेपाली मात्रा लेख्न गाह्रो भइरहेको छ। विश्वको सबैभन्दा अप्ठ्यारो पनि नेपाली लेख्न रहेछ भन्ने बुझ्दै छु’, उनी थप्छन्, ‘साना बच्चाहरू ज्ञानी र इमान्दार हुन्छन्, उनीहरूसँगै बसेर पढ्दा आनन्द आउँछ, त्यही भएर नर्सरीमा भर्ना भएको हुँ।’

अमरबहादुरसँग बालबच्चा चाख मानेर पढ्ने गर्छन्। केहीले जिस्क्याउछन् पनि। तर उनी बडो उत्सुकतापूर्वक लेख्न र पढ्न तल्लीन हुन्छन्। इच्छाशक्ति भए पढ्न र सिक्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका अमरबहादुरलाई सुरुमा घरपरिवार र छरछिमेकले पत्याएनन्। ‘नजाऊ भो’ भनेर दबाब दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

नाम : अमरबहादुर थापामगर
उमेर : ७५ वर्ष
कक्षा : नर्सरी
रोल नं : १०

तपाईको प्रतिक्रिया