बाँके । रेडियो सदभाव ९१.२ मेघाहर्जले आज बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर–६ मा आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा ६ सय ५० जनाले सेवा लिएका छन । नेपाल राष्ट्रिय निमावि गुलरीमा भएको शिविरमा ज्वरो, ग्याष्टिक, झाडापखाला र छाला सम्वन्धी विरामीहरु बढी आएको उपचारमा संलग्न चिकित्सक सुगत शाक्यले जानकारी दिनुभयो ।

शिविरमा साविकका फत्तेपुर गाविसका वडा नम्वर ६, ८ र ९ का स्थानीयबासीले सेवा लिएका थिए । जेस्चर्स अफ काइन्डनेस र एन.एम.एस.आर.ए को सहयोगमा भएको शिविरमा मेडिकल कलेज नेपालगन्जका डाक्टर शाक्यको नेतृत्वमा करिव एक दर्जन चिकित्सकहरुले स्वास्थ्य परिक्षण र निःशूल्क औषधि वितरण गरेका थिए ।

बाढीप्रभावितलाई लक्षितगरि रेडियो सदभावले यसअघि दुई ठाउँमा शिविर सम्पन्न गरिसकेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ र ७ मा गरिएको निःशूल्क स्वास्थ्य शिविरमा करिव १ हजार ५ सय स्थानीयबासीले सेवा लिएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियोले विपदमा परेकालाई सहयोग गर्न स्वास्थ्य शिविर गर्दै आएको स्टेशन प्रमुख नवीन गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया