डा. कृष्ण भट्टचन प्राकृतिक रुपमा मान्छेको जनसंख्यामा केटा र केटीको अनुपात जन्मको बेला स्थायी रुपमा लगभग बराबर हुन्छ । मान्छेले गडबड गरेको अवस्थामा भने यो अनुपात फरक पर्न सक्छ । युद्धका बेला (जनयुद्ध लगायत), केटाको जन्म संख्या केटीको तुलनामा केही मात्रामा कम हुन सक्छ तर छोराको जन्मलाई प्राथमिकता दिने समाजमा छोराको संख्या बढी र छोरीको संख्या कम हुन्छ ।

४९ नगरपालिका (नपा) मा ० देखि १४ वर्षका केटा र केटीको लिंगको अनुपातसम्बन्धी तथ्यांक हेर्दा यस्तो देखिन्छः १. केही अपवादबाहेक, ४९ नगरपालिकामध्ये अधिकांशको जनसंख्यामा केटाको अनुपात केटीको भन्दा निकै बढी छ । २. ४९ नगरपालिकामा ० देखि ४ वर्षको बालबालिकाको तथ्यांकको उल्लेखनीय तथ्य यस्तो छः – चामे नपा र पुतलीबजार नपा दुवैमा केटा र केटीको अनुपात ८९.३ र कपिलवस्तु नपामा केटा र केटीको अनुपात ९७.५ अर्थात् केटीको बढी छ । – बाँकी ४७ नपा सबैमा केटाको अनुपात बढी छ । औसत केटा र केटीको अनुपात १११.८ छ । बढीमध्ये तानसेन नपामा केटा र केटीको अनुपात १२४.८ र बढी मध्येको न्यूनमा धनकुटा नपा र विराटनगर नपामा केटा र केटीको अनुपात १०३.७ छ ।

३. ४९ नपामा ५ देखि ९ वर्षको उमेर समूहका बालबालिकाको तथ्यांकको उल्लेखनीय तथ्य यस्तो छः – ४९ नपा सबैमा केटाको अनुपात बढी, औसत केटा र केटीको अनुपात १११.५ छ । बढी मध्येमा सबैभन्दा बढी कोहलपुर नपामा केटा र केटीको अनुपात १३०.० र बढीमध्ये सबैभन्दा न्यून लिवाङ नपामा केटा र केटीको अनुपात १००.१ छ । ४. ४९ नपामा १० देखि १४ वर्षको उमेर समूहको बालबालिकाको तथ्यांकको उल्लेखनीय तथ्य यस्तो छः १. रत्ननगर नपा र भद्रपुर नपामा मात्र अपवादस्वरुप केटाको अनुपात कम अर्थात क्रमशः केटा र केटीको अनुपात ८८.१ र भद्रपुर नपामा केटा र केटीको अनुपात९८.६अर्थात केटीको अनुपात बढी र चामेमा केटा र केटीको अनुपात बराबर १००.० छ । २. बाँकी ४५ नपा सबैमा केटाको अनुपात बढी छ । औसत केटा र केटीको अनुपात १०८.३ छ । बढीमध्ये राजविराज नपामा केटा र केटीको अनुपात १२५.९ र बढी मध्येको न्यूनमा अनारमनी नपामा केटा र केटीको अनुपात १००.७ छ ।

केटाको अनुपात केटीको भन्दा बढी भएको अवस्थामा अहिले र पछि पर्न सक्ने केही असरहरु यस प्रकार देखिन्छः – केटाको जनसंख्या लिंग परीक्षण गरी छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गरेको कारणले हो भने नेपाली समाजमा महिलाविरुद्ध पितृसत्तावादी सोच, नीति र व्यवहारको जरा अझै पनि धेरै गहिरो भएको र महिला विरुद्धको हिंसा र भेदभाव सघन हुनसक्ने संकेत गरेकाले केटा र केटीको अनुपात सामान्य बनाउन राज्य, सरकार, दल, नागरिक समाज, घर, परिवार र व्यक्तिलाई ठूलो चुनौती दिएको छ । – केटीलाई विवाह गर्न केटाको छनोट गर्ने अवसर दिन्छ । यो सकारात्मक छ । – केटी अनुपात कम भएको अवस्थामा केटाका लागि केटीको सामाजिक मूल्य बढ्न जाने भएकाले केटीको हैसियत र अवस्था अभिवृद्धि हुन सक्छ । यो सकारात्मक कुरा हो । – धेरै केटाहरु भने अविवाहित रहन बाध्य हुनेछन् । विवाहलाई सामाजिक प्रतिष्ठाको रुपमा बढी मान्यता दिने समाजमा अविवाहित पुरुषको सामाजिक प्रतिष्ठा खस्कन सक्छ । त्यस्ता पुरुषको मनोवैज्ञानिक, पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत सबै पक्षमा नकारात्मक असर झेल्नुपर्ने हुनसक्छ । – नेपालमा गरिबीमा जीवनयापन गर्नेहरु धेरै भएकाले यीमध्ये धेरैले गरिबीको जीवनयापन गर्ने नै छन् र फलस्वरुप यिनीहरुमध्ये कतिपय हिंसा लगायतका आपराधिक र अन्य असामाजिक कार्यमा सक्रिय हुने सम्भावना बढी हुन्छ । केटी वा महिला विरुद्धको हिंसामा पनि वृद्धि हुन सक्छ ।

– धेरै पुरुषहरु विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट वञ्चित हुन सक्छ । – यौन चाहना र आवश्यकता पूरा गर्न यौन बजार फस्टाउन सक्छ । नोपलमा यौनकर्मीलाई कानुनी मान्यता नदिएको अवस्थामा चेलीबेटी बेचविखन र ओसारपसार र प्रहरीले यौनकर्मीमाथि गर्ने दुव्र्यवहारमा वृद्धि हुनसक्ने छ । – केटीको कमीको कारणले केटा अविवाहित रहन बाध्य हुनुको कारणले केटामा समलिंगी सम्बन्ध बढ्न सक्छ र यस्तो सम्बन्धलाई स्वीकार गर्ने व्यवहार बढ्न सकेको खण्डमा सकारात्मक परिणाम ल्याउने छ भने नेपालजस्तो अस्वीकार गर्ने परिवार समाजमा समलिंगीविरुद्ध विभेद र हिंसा बढ्न सक्छ । परिवारिक सम्बन्धमा समस्या सिर्जना हुन सक्छ । – पुरुषको संख्यामा बढी भएर अविवाहित रहने स्थितिमा उनीहरुको बालबच्चा नहुने भएकोले स्वतः जनसंख्यामा कमी आउने छ । जनसंख्या घटाउन प्रयास गरिहरेको नेपालजस्तो मुलुकका लागि यो सकारात्मक कुरा हुनेछ ।

– ० देखि १४ वर्षका केटाको संख्या बढी हुनुको कारण गर्भको बेलामा गरिने लिंग परीक्षणको कारणले हो भने केटीलाई जन्माउन चाहेर जन्माएको अवस्थामा केटीविरुद्ध हुने भेदभावमा कमी आउन सक्छ । – पैतृक सम्पत्ति छोराहरुले बढी उपभोग गर्ने, पाउने र छोरीले कम उपभोग गर्ने, पाउने हुनसक्छ । – नेपालको तराईका साथै पहाडमा जहाँ जहाँ दहेज वा दाइजो प्रथा विकृत अवस्थामा छ त्यहाँ केटीको सामाजिक भाउ बढेको अवस्थामा दाइजो र दहेजमा न्यूनीकरण हुनसक्ने देखिन्छ । – हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाप्रति विरोधीहरुको धारणा सकारात्मक हुँदै जान सक्नेछ । – मातृभाषा, भेषभूषा लगायतका कैयन सांस्कृतिक धरोहर महिलाले जोगाउने गरेको सन्दर्भमा छोरी नभएको परिवारमा सो कुरा हराउन सक्छ र समग्रमा भाषा र संस्कृति संरक्षण र सम्बद्र्धन कार्यमा नकारात्मक असर पार्ने छ ।

य वृद्ध बाबुआमालाई छोराले भन्दा छोरीले बढी हेर्ने, छाराले बढी हेलाँहोचो गर्ने जात समुदायमा वृद्धवृद्धा बाबुआमाको हेरचाहमा कमी र वृद्धाश्रममा जान बाध्य हुनेको संख्याा वृद्धि हुन सक्छ । – नेपालमा बेरोजगारीले व्याप्त भएकाले वैदेशिक रोजगारीमा धेरै युवा र त्यसमध्ये पनि पुरुषहरु धेरै जाने गरेकाले अहिले केटाको संख्या धेरै भएकाले पछि युवा हुनासाथ धेरै पुरुषहरु वैदेशिक रोजगारीमा जान सक्ने छन् र घरमा वृद्ध बाबुआमाले विभिन्न समस्या झेल्न पर्ने हुनसक्छ । नागरिक–परिवारले मलाई उपलब्ध गराएकोे तथ्यांक नगरपालिका र केटा र केटी अर्थात् लिंगको आधारमा मात्र तथ्यांक उपलब्ध गराएको तर जातजातिको आधारमा नगराएकाले जातिगत आधारमा हुनसक्ने भिन्नता भने केलाउन सकिएन । (नागरिक परिवारबाट साभार)

तपाईको प्रतिक्रिया