काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला दिनमा रिसाउने र झर्किन समस्याले ग्रसित बनेका छन् ।

पार्टीभित्रको समस्या होस् वा सरकारको विवाद होस् हरेक कुरामा सरसल्लाह गर्ने बेला झनक्क रिसाउने गरेको कांग्रेसका सांसद समेत रहेका एक केन्द्रीय सदस्यले जानकारी दिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

‘पार्टीभित्रको केही समस्या लिएर बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न गएको थिएँ’, ती नेताले भने,‘झनक्क रिसाउनु भयो । तिमीहरूले बनाएको कांग्रेस हो र ? के को चिन्ता लिन्छौँ ? भनेर रिसाउनु भयो ।’

चौथो पटक प्रधानमन्त्री बनेका देउवालाई सल्लाह दिने समूहले पनि उचित सल्लाह नदिएका कारण यस्तो अवस्था आएको टिकाटिप्पणी हुन थालेको छ ।

‘प्रधानमन्त्री देउवाको वरिपरी रहेका नेता र ‘किचन क्याबिनेट’ले खासै राम्रो सल्लाह दिने गरेको छैन’, नाम उल्लेख नगर्ने सर्तमा देउवा निकट एक केन्द्रीय सदस्यले भने,‘आजकाल देउवाजी अलिक रिसाउन थाल्नु भएको छ । उहाँको नजिक नेता तथा कार्यकर्ता र सहयोगीहरू जान रुचाउँदैनन् ।’

प्रमुख विपक्षी दल नेकपा (एमाले)ले दिनदिनै प्रहार गरेका कारण प्रधानमन्त्री देउवा चिढिएका हुन् । ‘एमालेले मिडिया र सामाजिक सञ्जाल प्रयोग गरेर गरिरहेको प्रहारबाट प्रधानमन्त्री देउवा दिक्क हुनुभएको छ’, एक सहयोगीले भने,‘सायद त्यही भएर होला उहाँलाई छिटो रिस उठ्ने गरेको छ ।’

नेपाल पत्रकार महासंघको निर्वाचनका बेला पनि देउवाले कांग्रेस निकटका पत्रकारहरूलाई एमालेले पेलेको भनेर माओवादी केन्द्र निकटका पत्रकारहरूसँग तालमेल गर्न निर्देशन दिएका थिए । त्यसको परिणाम स्वरुप नेपाल पत्रकार महासंघमा कांग्रेस र माओवादी केन्द्र निकट पत्रकारहरूले बहुतसहित जितेर आएका छन् ।

कांग्रेस सभापति विवादमा आइरहनुका पछाडि उचित सरसल्लाह र गहिरो अध्ययन नरहेको टिप्पणी कांग्रेसभित्र हुन थालेको छ । देउवाले कांग्रेसका नेता तथा कार्यकर्ताको खासै कुरा सुन्ने गरेका छैनन् । वरिपरी हुने कांग्रेस नेताहरूको धेरै कुरा सुन्ने बानी देउवामा रहेको आरोप छ ।

देउवालाई कांग्रेस नेता विमलेन्द्र निधि, डा.प्रकाश शरण महत, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, मीनबहादुर विश्वकर्मालगायतले सरसल्लाह दिने गरेका छन् ।

तर, यो समूहले आफू अनुकूलका सरसल्लाह दिने गरेका कारण कांग्रेसका सबै नेता तथा कार्यकर्ताले न्याय नपाएको गुनासो बढ्ने गरेको हो ।

देउवाले यो समूहको मात्रै कुरा सुन्ने गरेका कारण पनि नेपाली कांग्रेसलाई ठूलो नोक्सानी पुग्न गएको बताइन्छ । देउवाको अर्को ठूलो समस्या पत्नी आरजु राणा देउवाको कुरा सुन्ने बानीले पनि कांग्रेसलाई ठूलो क्षति पुगेको छ ।

भारत भ्रमणका बेला पनि प्रधानमन्त्री देउवाको निजी सहयोगीहरूले प्रभावकारी रुपमा समाचार सम्प्रेषण गर्न सकेनन् । प्रधानमन्त्री देउवासँग नयाँदिल्ली गएका निजी सहयोगी र प्रेस सल्लाहकार सहितको टिम घुमफिरमा मात्रै केन्द्रित रहेको तथा मिडियालाई आवश्यक पर्ने सामाग्री उपलब्ध नगराएको टिप्पणी भइरहेको छ ।

अहिले पनि प्रधानमन्त्री देउवाका समाचार र गतिविधिहरू निजी सचिवालयले सञ्चारकर्मीलाई चाहिएको बेला उपलब्ध गराउन सकेको छैन । प्रधानमन्त्री देउवालाई सहयोग हुने गरेर कुनै पनि सामाग्री समयमा नआउँदा गलत समाचार जाने गरेको कांग्रेस निकट पत्रकारहरूले गुनासो गरेका छन् ।

यही मौका छोपेर बामपन्थी पत्रकार र एमाले निकट सञ्चारमाध्यमहरूले प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसको खेदो खन्ने गरेका छन् ।

कांग्रेस निकट केही सञ्चारकर्मीलाई मिडिया चलाउन भनेर कांग्रेसका केही नेताहरू तथा पूर्वमन्त्री एवम् अहिलेका मन्त्रीहरूले पैसा दिए पनि त्यो बालुवामा पनि हाले जस्तै भएको बालुवाटारमा चर्चा छ ।

तपाईको प्रतिक्रिया