काठमाडौँ । -राप्रपा अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनबाट आफ्नो पार्टीले खासै ठूलो अपेक्षा नगरेको बताएका छन् । तर, राप्रपाले सम्मानजनक मत पाउने उनको भनाइ छ ।

मिडिया नेपालले बिर्तामोडमा बुधबार बिहान गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले प्रदेश नम्बर २ को केही स्थानमा विजय हासिल गर्ने दाबी गरे । एमालेलाई हराउनका लागि सबै दल जुट्नु लोकतन्त्रलाई खतरा भएको राप्रपा अध्यक्ष थापाको भनाइ छ । थापाले कुनै एक दलविरुद्ध अन्य दल मरिमेटेर लाग्न नहुने बताए ।

अध्यक्ष थापाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भने राप्रपाका लागि अत्यन्तै महत्वपूर्ण हुने भएकाले उच्च प्राथमिकतामा राखिएको बताए ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा तालमेलका विषयमा हालसम्म कुनै निर्णय नभएको उनले स्पष्ट पारे । थापाले भने, ‘राप्रपाजस्तो राष्ट्रवादी पार्टीले आत्मसमर्पणवादी दलसँग सहकार्य गर्दैन ।’

तालमेल नभएका स्थानमा राप्रपाले प्रत्यक्षको उम्मेदवार खडा गर्ने बताएका थापाले आफू मकवानपुर जिल्लाको एक नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा उम्मेदवार बन्ने उद्घोष गरे । तर, राष्ट्रवादी शक्ति भएकै कारण राप्रपालाई बढार्ने डिजाइनसमेत भइरहेको उनले दाबी गरे ।

संविधानसभाको निर्वाचनबाट हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको राप्रपा चौथो ठूलो शक्ति बनेको स्मरण गर्दै थापाले आफ्ना एजेन्डा स्थापना गर्नका लागि सडक र सदन दुवै ठाउँमा संघर्ष गरेको बताए ।

‘तर, पनि संख्याको अभावले गर्दा हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डालाई संविधानमा संस्थागत गर्न सकिएन,’ उनले भने, ‘हामी यी एजेन्डालाई लिएर फेरि पनि जनताको माझमा जान्छौँ ।’ राप्रपाले आफ्नो एजेन्डा एक क्षण पनि नछोडेको उनले दाबी गरे । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया