गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो।

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक कठायतले बताए।

बम विष्फोटबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको तथा नेपाली सेनाको फस्ट राइफल गणका डिस्पोजल टोलीले सो स्थानमा गएर थप बमको खोजतलाश गरेकोमा केही पनि फेला नपरेको र अहिले सो स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यता आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम रहेकाले बर्दिबासमा व्यापकरुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया