कोवाङ (मुस्ताङ), २० भदौ । प्रशस्त सम्भावना बोकेको मुस्ताङsfथासाङ गाउँपालिका–२ कोवाङस्थित भुर्तछो र सेकोङ ताल ओझेलमा परेका छन् ।

प्रचारप्रसार, संरक्षण र पूर्वाधारको कमीले प्राकृतिक सौन्दर्यले रमणीय ताल ओझलमा परेका हुन् । दैनिक सयाँै आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने बेनी–जोमसोम सडकको बोक्सीखोला खण्डदेखि करिब ३० मिनेट उकालो चढेपछि पुगिने भुर्तछो र सेकोङ ताल सुनसान छ ।

करिब डेढ किलोमिटर क्षेत्रमा फैलिएका यी दुवै तालको विशेषता र महत्वका बारेमा प्रचारप्रसार हुन नसक्दा ओझलमा परेको कोवाङ लार्जुङका गाउँका मुखिया कृष्ण शेरचनले बताउनुभयो । तालको संरक्षण र व्यवस्थापन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीको रुख रहेको जंगलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाइ ५०० मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर भएको अनुमान छ । तालमा धौलागिरि र निलगिरि हिमालको छायाँ देख्न सकिन्छ ।

थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ । भुर्छतो तालदेखि करिब ३० मिनेट पैदल हिँडेपछि सेकोङ ताल पुगिन्छ । गोलो आकारको यो ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धौलागिरि हिमाल देख्न सकिन्छ । आकाश खुलेको अवस्थामा दुईवटै हिमालको छायाँ यो तालमा पर्छ । करिब १५० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको सेकोङ ताल समुद्री सतहदेखि दुई हजार ७२५ मिटरको उचाइमा अवस्थित छ ।

ताल क्षेत्र रतुवा मृग र विभिन्न प्रजातिका चराको बासस्थान हो । यहाँ बर्सेनि वैशाख पहिलो र दोस्रो हप्ता चौँरीगाईको आलो रगत पिउने मेला लाग्छ । ताल परिसरबाट देखिने मनोरम दृष्यले जो सुकैलाई पनि मोहित बनाउने ताल अवलोकनका लागि आएका बुटवलका अजित शेरचनले बताउनुभयो ।

“ताल, हिमाल, वनजंगल, वन्यजन्तु र पक्षीको एकै पटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भयो,” शेरचनले भन्नुभयो । सेकोङ ताल धौलागिरि आइसफल जाने पदमार्गको प्रवेश बिन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरी गोठ रहन्छन् । यस तालको क्षेत्रफल बढाएर डुंगा सञ्चालन गर्न सकिने सम्भावना छ ।

विभिन्न चलचित्र र गीतको यहाँ छायाँकन समेत गरिन्छ । खुल्ला क्षेत्र भएका कारण तालमा बाढी पस्ने गरेको छ । ताललाई संरक्षणका लागि घेराबारको आवश्यकता रहेको बोक्सीखोलाका रनबहादुर गौचनले बताउनुभयो ।

“ढलेका रुख र बाढीले ताल पुरिँदै गएको छ,” उहाँले भन्नुभयो । सो स्थानमा सार्वजनिक शौचालय, होटल तथा रेष्टुराँको सुविधा छैन । नजिकैको बस्ती कोवाङ र लेतेदेखि डेढ घण्टा पैदल हिँडेपछि तालमा पुग्न सकिन्छ । स्थानीय बासिन्दा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बेनी–जोमसोम सडकको बोक्सीखोलादेखि भुर्छतो–सेकोङताल हुँदै पुनः बोक्सीखोला जोड्ने पदमार्ग सञ्चालन गरेका छन् ।

बोक्सीखोलादेखि भुर्छतो तालसम्मको पदमार्ग एक्यापको सहयोगमा निर्माण भएको छ । स्थानीयवासीले बोक्सीखोलादेखि सेकोङ तालसम्म जाने पदमार्ग बनाएका छन् । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सेकोङ तालदेखि धौलागिरि आइसफलतर्फ जाने पदमार्ग निर्माण शुरु गरिए पनि निरन्तरता पाउन सकेको छैन ।

धौलागिरि हिमालको पूर्वी मोहोडाबाट निरन्तर खसिरहने हिउँपहिरो नजिकबाट अवलोकन गर्नका लागि आइसफलमा पुग्न कोवाङबाट पाँच घण्टा पैदल हिँड्नुपर्छ । आइसफल पुग्ने यही नै छोटो पदमार्ग हो । दुईवटा तालको बीचमा पर्ने खोलामा झोलुंगे पुलको आवश्यकता छ ।

सेकोङ तालदेखि धौलागिरि आइसफलसम्म जाने पदमार्ग, क्याम्पिङ साइट, ताल संरक्षण गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष नरबहादुर हिराचनले बताउनुभयो । नर्साङ गुम्बा, कोवाङ, नाउरीकोट, गुरुसफाम्फुक गुफा, भुर्छतो र सेकाङ ताल, धौलागिरि आइसफललाई पर्यटकीय पदमार्गले जोड्ने योजना बनाएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया