तेह्रथुम, २० भदौ । चाडबाड नजिकिएसँगै वर्षायाममा क्षतिग्रस्त तेह्रथुम जिल्लाका सडक सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती भइरहेकोे छ । वर्षायाम सकिए पनि सडक मर्मत गरी सञ्चालन गर्न ध्यान नदिइँदा उपभोक्तालाई सास्ती हुन थालको हो ।

सडक ठप्प हुँदा चाडबाडमा चाहिने खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुको ढुवानी र आवतजावतसमेत कष्टपूर्ण बनेको छ । असारको पहिलो सातादेखि अवरुद्ध सडक सञ्चालनमा नआउँदा यात्रु सास्ती व्यहोर्न बाध्य भएका हुन् । निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएर र बाढीले खोलेर ठूलठूला खाडल बनाएपछि ट्र्याक्टरसमेत चल्न सकेका छैनन् ।

विशेषगरी जिल्लाको पूर्वी क्षेत्रका बासिन्दा सवारी नचल्दा सास्ती व्यहोर्न बाध्य भएका छन् । सदरमुकाममा रहेका सरकारी सेवा प्रदायक कार्यालयको सेवा लिनका लागि आवतजावत गर्न सवारी नचल्दा दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ ।

“वर्षाले क्षतिग्रस्त सडक चार महिनादेखि ठप्प छन्, सदरमुकाममा भेटिएका आठराई गाउँपालिका–४, इवाका दुर्गा भट्टराईले भन्नुभयो, “बानी नभए पनि डेढ दिन लगाएर पैदल हिँडेर नै आइपुगेँ ।”

वर्षाले क्षतिग्रस्त सडक मर्मतमा कसैले चासो नदिँदा यहाँका डेढ दर्जनभन्दा बढी गाउँका वासिन्दालाई सास्ती भइरहेको भट्टराईले बताउनुभयो ।

सडक ठप्प भएपछि पूर्वी क्षेत्रको आठराई गाउँपालिकाका नागरिक सदरमुकाम आउँदा पैदल नहिँडे सात जिल्ला घुमेर आउनुपर्छ । “आठराईबाट फिदिम, इलाम हुँदै धरान पुगेर तेह्रथुम आउनुभएका एमालेका पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङ्वाले भन्नुभयोे, “सेवाग्राहीलाई सदरमुकाम पुग्न सात जिल्ला घुमेर जानुपर्ने जिल्ला सायद हाम्रै मात्र होला ।”

सडक निर्माणपछि मर्मत सम्भारमा बजेट अभाव हुँदा समयमै सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । सडक ठप्प हुँदा सेवाग्राहीमात्र होइन, सेवा प्रदायक निकायसमेत सात जिल्ला घुमेर आठराई पुग्छन् ।

आठराईबाट सडक सुविधा उपभोग गरेर सदरमुकाम आउँदा पाँचथरको फिदिम हुँदै इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाको समेत सीमा क्षेत्र भएर आउनुपर्छ । यसो गर्दा एकपटक सदरमुकाम आउँदा सवारी भाडामात्रै न्यूनतम रु दुई हजार ८०० लाग्छ । “एकपटक सदरमुकाम आउँदा कम्तीमा रु पाँच हजार सकिन्छ”, पोमाजुङ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जयप्रकाश इङ्नामले भन्नुभयो, “गाउँका सर्वसाधारणलाई सदरमुकाम आउनलाई वर्ष दिनदेखिको जोहो चाहिन्छ ।”

आठराईलाई म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–संक्रान्तिबजार सडकखण्डको आधाभन्दा बढी भाग मध्यपहाडी लोकमार्ग खण्डमा पर्छ । बाँकी सडक तत्कालीन जिल्ला विकास समितिअन्तर्गत नै मर्मत सम्भार र निर्माण हुँदै आएको छ ।

यी दुवै सडक वर्षाले क्षतिग्रस्त छन् । सडक मर्मतमा सम्बन्धित निकायले यथाशीघ्र चासो दिनुपर्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति अर्जुनबहादुर तुम्बाहाम्फेले बताउनुभयो । “सम्बन्धित क्षेत्रका स्थानीय तहले स्थानीयवासी नागरिकको माग बमोजिम सडक मर्मत गर्न सक्नुपर्छ, अन्यथा अर्को विकल्प छैन, उहाँले भन्नुभयो ।

यो सडकखण्डको खोरुंगा र कोया खोलामा पुल नहुँदा पनि यात्रुलाई सास्ती भएको हो । सडक क्षतिग्रस्त बनेपछि गाउँका बासिन्दाको बजारसँगको सम्बन्धविच्छेद भएको इसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाले बताउनुभयो ।

वर्षाको पानीले सडक हिलाम्मे हुँदा जिल्लाका ३० भन्दा बढी सडकमा यातायात एकैपटक ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, वसन्तपुरले जनाएको छ । वर्षाको भेलले बगाएका सडकमा गत आवमा करोडौँ रुपैयाँ खर्च भएको थियो ।

वातावरणीय प्रभाव अनुगमन मूल्यांकन नै नगरी नियम विपरीत डोजर र स्काभेटर लगाएर खनिएका धेरै सडकमा पहिरो गएको छ । उपभोक्ता समितिले बिनासर्भे निर्माण गरेका अधिकांश सडक पहिरोमा परिणत भएका छन् । प्राविधिक सर्वेक्षणबिना नै गाउँमा खनिएका ग्रामीण र कृषि सडकमा मान्छेसमेत हिँड्न गाह्रो छ ।

गाउँमा कसले पहिले मोटर पु¥याउने भन्ने होडबाजीसाथ खनिएका बाटो पहिरोमा बगेका छन् । गाउँमा खनिएका यिनै मोटर बाटोमा वर्षाको भेल पसेर धेरै किसानको खेतबारी बगाएको छ । वर्षापछि म्याङ्लुङ–सक्रान्ति सडक खण्डसँगै जिरिखिम्ती–मोराहाङ र सिधुवा–शुक्रबारे सडक खण्ड पनि अनियमित छन् ।

वर्षाका कारण सडक क्षतिग्रस्त हुँदा म्याङ्लुङ–हलिमेला खण्डमै सवारी चलाउन नसकिएको व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो । पाँच वर्षअघि खनिएका सडकमा समेत वर्षैपिच्छे मर्मत सम्भारको नाममा करोडौँ रुपैयाँ खर्च भइरहेकोे छ । मोटो रकम खर्च गरेर मर्मत गरिएका सडक बाढीले बगाएकाले मर्मतको नाममा राज्यकोषको करोडौँ सकिने गरेको गुनासो स्थानीयवासी गर्छन् ।

गाउँ–गाउँमा खनिएका यस्ता सडकमा हिलो उठेकाले गाउँलेलाई पैदल हिँड्नसमेत अप्ठ्यारो भएको स्थानीयवासीको भनाइ छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म १५० भन्दा बढी सडकको निर्माण थालिएको छ ।

तर बाह्रैमहिना सवारी सञ्चालनयोग्य एउटा पनि सडक छैनन् । जिल्लाको कूल साढे ५०० किमी सडकमध्ये ४०० भन्दा बढी किमी कच्ची र निर्माणाधीन सडक रहेका छन् ।

तपाईको प्रतिक्रिया